अञ्चल अस्पतालमा सेवा लिनेको सङ्ख्यामा वृद्धि

इनेप्लिज २०७२ असोज २० गते १:५८ मा प्रकाशित

Dang_district_locationदाङ, २० असोज । राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचार सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा उपचार सेवा लिनेको सङ्ख्या ४२ हजार ६६१ जना पुगेको छ । गत आर्थिक वर्ष २०७०÷७१ मा अस्पतालमा २८ हजार ४९० जनाले उपचार सेवा लिएका थिए

गत वर्षलाई तुलना गर्दा यस वर्ष सेवा लिनको सङ्ख्यामा १४ हजार १७१ जनाले वृद्धि भएको छ । जसमध्ये ६ हजार ४३२ जनाले आकस्मिक सेवा लिएका छन् भने ३६ हजार २२९ जनाले बहिरङ्ग सेवा लिएको अस्पतालका सूचना अधिकारी अरुणदेव खनालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसैगरी अस्पताललै भर्ना भएर सेवा लिनेको सङ्ख्या चार हजार ५५ रहेको छ ।

त्यस्तै खोप सेवा र गर्भ परीक्षण तीन हजार २४०, ल्याब सेवा लिनेको सङ्ख्या १३ हजार ७३८ जना पुगेको छ । त्यसैगरी सुत्केरी सेवा लिनेको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष २०७०÷७१ मा अस्पतालमा आएर एक हजार ३८५ जनाले सुत्केरी सेवा लिएकामा आर्थिक वर्ष २०७१÷७२ मा एक हजार ५८० जनाले सुत्केरी सेवा लिएको अस्पतालकी नर्सिङ निरीक्षक रमा पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्लो वर्षलाई तुलना गर्दा यस वर्ष झन्डै २०० जनाले सुत्केरी सेवा लिएको देखिन्छ । अस्पतालमा शल्यक्रिया सेवा सुरु भएसँगै जनचेतनाका कारणले पनि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको पराजुलीले बताउनुभयो ।

अस्पतालका सुपरिटेन्डेन्ट भोलाराज श्रेष्ठले दरबन्दीअनुसार जनशक्ति र भौतिक पूर्वाधार नहुँदा सोचेअनुसार सेवा प्रभाव गर्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया