खोलाको पानी खानबाट मुक्त

इनेप्लिज २०७२ असोज १९ गते २:४१ मा प्रकाशित

दैलेख, १९ असोज । खोला र कुवाको पानीमा निर्भर सल्लेरी–डाँडागाउँका २९ घरधुरीका स्थानीय बासिन्दा टोलटोलमा नयाँ धारा बनाइएसँगै खुसी भएका छन् ।

स्थानीय गरिबी निवारण कोष नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) को सहजीकरणमा एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत देउली खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि डाँडागाउँमा खानेपानी समस्या हटेको हो ।

खोलामा एक घन्टादेखि दुई घन्टासम्म लगाएर दूषित पानी लिएर खानुपर्ने बाध्यता थियो । जनसेवा सामुदायिक संस्थाका सचिव कृष्णबहादुर चन्दले भन्नुभयो – “अहिले घरघरमै सफा पानी आएको छ । समय र स्वास्थ्यको पनि बचत भएको छ ।”

खानेपानी सामुदायिक संस्थाका सचिव तथा आयोजनाको कोषाध्यक्ष कृष्णबहादुर चन्दका अनुसार खानेपानी घरघरमै आएपछि टोलको सरसफाइदेखि हरेक कुरामा विकास भएको हो ।

उक्त देउली खानेपानी आयोजना निर्माणका लागि गरिबी निवारण कोषबाट रु ११ लाख ३३ हजार ७४५ र सामुदायिक संस्थाबाट रु तीन लाख १८ हजार १५० र गाविसबाट रु ५० हजार सहयोग प्राप्त भएको थियो ।

प्रतिक्रिया