इलाममा लागुऔषध दुव्र्यसनीबाट १८ मुक्त

इनेप्लिज २०७२ असोज १८ गते ३:५२ मा प्रकाशित

ilam_nepal_mapइलाम १८ असोज । इलाममा १८ जना लागुऔषधकर्तालाई लागुऔषध दुव्र्यसनीबाट मुक्त गराइएको छ ।

सदरमुकाममा गतवर्षदेखि सञ्चालन भएको सहयोगी हातहरुको समूह (सुधार गृह) इलामले उनीहरुलाई एकवर्षको अवधिमा मुक्त गराएको समूहका अध्यक्ष प्रधातकुमार आले थापाले जानकारी दिनुभयो । साथीभाइको लहैलहैमा दुव्र्यसनीबाट फसेका तथा घरबार नै बेहाल बन्ने अवस्थामा पुगेका दुव्र्यसनीलाई विशेष कक्षा दिएर मुक्त गराइएको हो ।

समूहका अध्यक्ष थापाका अनुसार, दुव्र्यसनीबाट १८ जनालाई मुक्त गराइएको छ भने १४ जनालाई निगरानीमा राखिएको छ । एक वर्षको अवधिमा समूहको उद्देश्यअनुरुप नै लागुऔषध प्रयोगकर्तालाई सुधारगृहमा ल्याई मुक्त गराउन सफल भएको अध्यक्ष थापाको भनाइ छ ।

यक्तिगत लगानीबाटै सञ्चालनमा आएको सुधारगृहलाई कुनै पनि निकायबाट सहयोग नभएको सञ्चालकहरुले बताएका छन् । सरकारी निकायबाटै लागुऔषधविरुद्ध रकम विनियोजन हुने गरेको भए पनि आफूहरुलाई सहयोग प्राप्त नभएको उनीहरुको भनाइ छ ।

सुधारगृहले इलाम नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा महिनाको एउटा लागुऔषधविरुद्धको कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको समूहका सचिव विमल शिवाकोटीले जानकारी दिनुभयो । निजी तथा आवाशीय विद्यालय प्याप्सनसँगको सहकार्यमा कक्षा सञ्चालनको तयारी भइरहेको छ ।

गाउँ गाउँमा धेरै सङ्ख्यामा लागुऔषध प्रयोगकर्ता भए पनि यकिन तथ्याङ्क भने नरहेको शिवाकोटीको भनाइ छ । इलाममा सञ्चालन भएको एकमात्र सुधारगृहमा ३० देखि ३५ जना अटाउने क्षमता रहेको सञ्चालकले जानकारी दिएका छन् । इलाममा विशेष गरेर जाँडरक्सी र गाँजा सेवन गर्नेहरु नै सम्पर्कमा आउने गरेको जनाइएको छ । उनीहरुलाई घरपरिवारले नै सुरुमा जोगाउन सके लागुऔषधसँगको संसर्गबाट टाढा रहने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया