लाजका कारण एचआइभी सङ्क्रमित औषधिका लागि अन्यत्रै गए

इनेप्लिज २०७२ असोज १८ गते ३:४९ मा प्रकाशित

hiv-aidsइलाम, १८ असोज । एचआइभी सङ्क्रमितहरु समाजमा आफ्नो गोपनीयता खुल्ने डर र लोकलाजका कारण जिल्ला बाहिर गएर औषधि सेवन गर्ने गरेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा निःशुल्क औषधि उपलब्ध गराउन थालिए पनि लाज र गोपनीयता खुल्ने डरले औषधि र उपचारका लागि झापाको मेची अञ्चल अस्पताल र भारतसम्म पुग्ने गरेको पाइएको छ ।

कतिपयले भारतबाट समेत औषधि किनेर ल्याएर प्रयोग गर्ने गरेका छन् । जिल्ला अस्पतालमा एचआइभी पीडितलाई औषधि उपलब्ध गराउन, परीक्षण र परामर्श सेवा दिनका लागि चार महिनाअघि एन्ट्रिरेट्रोभाइरल थेरापी सेन्टर (एआरटी सेन्टर) स्थापना गरिएको छ । सेन्टर स्थापना भएको लामो समय बित्दासमेत सेन्टरमा कोही सेवाग्राही नआएको अस्पतालले जनाएको छ ।

“रोग पहिचान भएकाहरूलाई थप स्वास्थ्य परीक्षण गरेर मात्र औषधि दिनुपर्छ” – सेन्टरका परामर्शकर्ता चन्द्र सुब्बाले भन्नुभयो –“लाज र समाजमा थाहा हुन्छ भन्ने डरले कोही पनि आएका छैनन्, यहाँका सङ्क्रमितहरू झापा र भारतसम्म पुगेर औषधि लिन्छन् ।”

इलामसहित पाँचथर र ताप्लेजुङ जिल्लाका सेवाग्राहीलाई समेत लक्षित गरेर एआरटी सेन्टर स्थापना गरिए पनि एचआइभी सङ्क्रमितहरू नआउने गरेको बताइएको छ ।

इलामलगायत विभिन्न ठाउँबाट आएका २५÷३० जनाले मेची अञ्चल अस्पताल झापा र भारतसम्म पुगेर एचआइभीविरूद्धको औषधि सेवन गरिरहेका छन् ।

यसअघि जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा नौजना मात्रै एचआइभी सङ्क्रमित थिए । सरकारले निःशुल्क रूपमा औषधिलगायतका अन्य परामर्श सेवा दिन एआरटी सेन्टर स्थापना गरे पनि विविध कारणले सेवाग्राही नआएका हुन् ।

जनचेतना अभावका कारण सङ्क्रमितलाई अझै पनि समाजमा फरक दृष्टिले हेरिने गरेकाले उनीहरू कसैले थाहा नपाउन् भनेर बाहिरी जिल्लामा गएर औषधि सेवन गर्दै आएका छन् ।

प्रतिक्रिया