घोडेपानी–घान्द्रुक रुटमा पदमार्ग निर्माण सुरु

इनेप्लिज २०७२ असोज १८ गते ३:४६ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १८ असोज । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीदेखि कास्कीको घान्द्रुक जाने पदमार्ग निर्माण गर्न सुरु गरिएको छ ।

भिरालो पहाड र जङ्गलबीचको बाटोमा घोडेपानीका बासिन्दाले ढुङ्गे सिँढी राखेर व्यवस्थित पदमार्ग बनाउन सुरु गरेका हुन् ।

पहिलो चरणमा घोडेपानीदेखि छ सय मिटर टाढासम्म पदमार्ग बनाउने काम सकिएको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त पदमार्ग निर्माण गर्न समितिको आन्तरिक कोषबाट रु १७ लाख खर्च भएको छ । चिप्लो बाटोमा हिँड्दै आएका पर्यटकले सिँढी निर्माण भएपछि सहज र सुरक्षित रुपमा यात्रा गर्न पाएका छन् । आगामी वर्ष पनि पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिइने अध्यक्ष पुनले बताउनुभयो ।

समितिको नेतृत्वमा घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा सिँढी र रेलिङ राख्ने काम ९० प्रतिशत पूरा भएको छ । यसअघि चित्रे र उल्लेरीतर्फबाट घोडेपानी प्रवेशद्वारदेखि गाउँसम्म पनि सिँढीसहितको पदमार्ग निर्माण गरिएको थियो । उनीहरुले गाउँ प्रवेश गर्ने चार ठाउँमा पक्की स्वागतद्वार पनि बनाइसकेका छन् ।

अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख आकर्षकस्थल मानिने घोडेपानी नजिकै रहेको पुनहिल, घना गुराँसे जङ्गल, सूर्योदय र हिमशृङ्खलाको दृष्यावलोकनका लागि प्रसिद्ध छ । हरेक वर्षको असोज, कात्तिक, चैत र वैशाख महिनामा त्यहाँ पर्यटकको घुइँचो लाग्छ ।

यसपालि पनि पर्यटकको चहलपहल बढ्न थाले पनि विगतको जस्तो पर्यटक नआएको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताउनुभयो । उहाँका अनुसार गत वर्ष यो मौसममा दैनिक चार सयको हाराहारीमा पर्यटक भित्रने गरेका थिए । यसपालि गत वर्षको भन्दा ५० प्रतिशत कम पर्यटक आएका छन् ।

प्रतिक्रिया