स्थानीय शान्ति समितिको वार्षिक कार्यक्रम तय

इनेप्लिज २०७२ असोज १८ गते ३:४४ मा प्रकाशित

खोटाङ, १८ असोज । स्थानीय शान्ति समिति खोटाङले आव ०७२÷७३ मा सञ्चालन गर्ने सबै कार्यक्रमको टुङ्गो लगाएको छ ।

आइतबार बसेको समितिको बैठकले दश वर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका परिवारका महिलालाई मेसिनसहित सिलाइ कटाइ तालिम दिने, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको अनुदानमा निर्माण भइरहेका विकासे योजनाको अनुगमन गर्ने, द्वन्द्व र द्वन्द्वपछिको अवस्थाका विषयलाई समेटेर वृत्तचित्र निर्माण गर्ने, स्थानीय रेडियो तथा पत्रपत्रिकाबाट शान्ति प्रवद्र्धनका कार्यक्रम उत्पादन, प्रसारण एवम् प्रकाशनलगायतका कार्यक्रम गर्ने टुङ्गो लगाएको हो ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त भएको रु पाँच लाख अनुदानबाट यस आवमा कार्यक्रम गर्ने टुङ्गो लगाइएको स्थानीय शान्ति समितिका संयोजक सूर्यबहादुर राईले जानकारी दिनुभयो । समितिले हरेक वर्ष सञ्चालन गर्दै आएको लोकसेवा आयोगको तयारी कक्षालाई यसपल्ट हटाउने निर्णय गरेको छ ।

बैठकले नयाँ संविधानको अन्तरवस्तुलाई सर्वसाधारण समक्ष पु¥याउनका लागि जिल्लामा अनुशिक्षण कार्यक्रम गर्ने भएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्व व्यवस्थापन महाशाखाको सहयोगमा शान्ति समितिले सदरमुकाम दिक्तेल, क्षेत्र नं १ को ऐसेलुखर्क र क्षेत्र नं २ का लागि सिम्पानीमा अनुशिक्षण कार्यक्रम गर्ने टुङ्गो लगाइएको संयोजक राईले बताउनुभयो ।

अघोषित नाकाबन्दीले उत्पन्न समस्याका कारण समितिले अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने मिति भने तय गरेको छैन । वैद्य नेतृत्वको नेकपा–माओवादी र सङ्घीय समाजवादी फोरम भने अनुशिक्षणको विपक्षमा रहेको बताएका छन् ।

प्रतिक्रिया