घुम्ती कर शिविरमा नयाँ करदाता थपिए

इनेप्लिज २०७२ असोज १८ गते ३:४३ मा प्रकाशित

तुलसीपुर (दाङ), १८ असोज । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले दाङको देउखुरी क्षेत्रको लमही र सिसहनियामा सुरु गरेको दुईदिने घुम्ती कर शिविरमा एकसय बढी नयाँ करदाता थपिएका छन् ।

लमही उद्योग वाणिज्य सङ्घ र हालै सिसहनियानमा गठन भएको सिसहनिया उद्योग वाणिज्य सङ्घको समन्वयमा हिजो सम्पन्न भएको घुम्ती कर शिविरमा १०५ जना नयाँ करदाता थपिनुका साथै रु आठ लाख ५० हजार राजस्व सङ्कलन भएको टोलीको नेतृत्व गरेर कर शिविरमा जानुभएका कर अधिकृत वासुदेव नेपालले जानकारी दिनुभयो ।

शिविरमा ३०० जनाले आय विवरण बुझाएको, ८५ जनाले प्यान नम्बर लिएको, ५० जनाले मदिराको इजाजत लिएको र ३० जनाले मदिराको इजाजत नवीकरण गराएको कार्यालयले जनाएको छ ।

लामो समयदेखि बन्द रहेको देउखुरी क्षेत्रका व्यवसायीको समस्यालाई मध्यनजर गरेर कार्यालयले त्यहाँका करदातालाई घर नजिकै सेवा प्रवाह गरेको हो ।

सेवाग्राहीलाई छिटो छरितो घरआँगनमा सेवा दिनुका साथै त्यहाँ थरुहटले गरेको अनिश्चितकालीन बन्दका कारण करदाताहरु सेवा लिन आउन नसकेपछि स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा एकीकृत घुम्ती शिविरको आयोजना गरिएको आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत तुलसीराम सेढार्इंले जानकारी दिनुभयो ।

त्यसैगरी अब चाँडै देउखुरीको गढवा र भालुवाङ क्षेत्रमा पनि यस्तो प्रकारको घुम्ती शिविरको आयोजना गरिने प्रमुख कर अधिकृत सेढार्इंले बताउनुभयो ।

लामो समयसम्मको बन्दका कारण त्यस क्षेत्रका व्यवसायी तथा व्यापारी मर्कामा परेका थिए । केही दिनदेखि देउखुरी क्षेत्रका व्यवसाय तथा पसल खुले पनि अझै थरुहटका कार्यकर्ताले त्यहाँ यातायात भने सञ्चालन हुन दिएका छैनन् ।

प्रतिक्रिया