आयात केही सहज

इनेप्लिज २०७२ असोज १७ गते १४:५५ मा प्रकाशित

धनगढी, १७ असोज । कैलाली भन्सार नाकाबाट दुई दिनदेखि भारतबाट खाद्यान्न र तरकारीको आयात केही सहज हुन थालेको छ ।

भन्सार कार्यालयका प्रमुख मानप्रसाद विकले पहिलेभन्दा भन्सार नाकाबाट आयात दुई दिनदेखि केही सहज भएको जानकारी दिनुभयो । आज ग्यासको एक बुलेट गाडीसहित चिनी, चामल, मकै, तरकारी, कुखुराका दानालगायत खाद्यान्न बोकेका ४२ वटा सवारी साधन धनगढी भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

यसअघि शनिबार ग्यासका दुई बुलेट गाडीसहित ५१ मालवाहक साधन भित्रिएका थिए सीमापारि भारतको गौरीफन्टा भन्सार कार्यालयका प्रमुख बिके सिंहको सहभागितामा कैलाली भन्सार कार्यालयमा भएको भन्सार अधिकारीको दुई पक्षीय बैठकमा सीमामा आयातनिर्यात सहज बनाउने विषयमा छलफल भएको थियो ।

“भारतले लगाएको अघोषित नाकाबन्दी हटाएको बताइए पनि यसको आधिकारिक जानकारी अहिलेसम्म आएको छैन”, बिकले भन्नुभयो, “सीमा क्षेत्रका दुबै देशका भन्सार कार्यालयका प्रमुखको बैठकमा सीमामा आयातनिर्यात सहज गर्न छलफल भएको छ ।”

पेट्रोलियम पदार्थको आयात हुन दिने सूचना पाएपछि नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले पेट्रोल र डिजल लिन आज १८ वटा ट्याङ्कर भारतको शाहजाँपुर डिपोतर्फ पठाएको छ ।

यद्यपि पेट्रोलियम पदार्थको आयात भने आजसम्म पनि सहज हुन नसकेको कैलाली भन्सारका कर्मचारीले बताएका छन् ।

नेपाल आयल निगमका क्षेत्रीय प्रबन्धक शरद पौडेलले सुदूरपश्चिमका लागि भारतको शाहजाँपुर डिपोमा बिदाको दिनबाहेक दैनिक दुई ट्याङ्कर पेट्रोल तथा डिजल लोड हुने गरेकामा तीन दिनदेखि त्यहाँ सार्वजनिक बिदा परेकाले पेट्रोलियम पदार्थ लोड हुन नसकेको जानकारी आएको प्रबन्धक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया