काठमाडौँ, १७ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरी बल देशको भरपर्दो सुरक्षा निकायका रुपमा स्थापित भएको बताउनुभएको छ ।
सशस्त्र प्रहरी बलले पहिलोपटक सञ्चालन गर्न लागेको ‘कमाण्ड तथा स्टाफ कोर्ष’ को आज यहाँ उद्घाटन गर्दै उहाँले सशस्त्र प्रहरी बलले जनताको हितमा गरेको योगदानले सङ्गठनलाई लोकप्रिय बनाउनुका साथै छोटो अवधिमै भरपर्दो सुरक्षा निकायका रुपमा स्थापित हुन सफल रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री गौतमले सशस्त्र प्रहरी बलले गरेको योगदानले यस सङ्गठनको उचाइ चुलिएको बताउँदै बलले गरेको उत्कृष्ट कार्यले जनताद्वारा दिन प्रतिदिन सशस्त्र प्रहरी बलको तैनाथीका लागि माग भइरहेको चर्चा गर्नुभयो ।
“सशस्त्र प्रहरी बलको योगदान अतुलनीय रहेको छ”, उहाँले भन्नुभयो– “कानुनी राज्यको अवधारणाबमोजिम शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरी बलको योगदान प्रशंसनीय छ, जनताले सशस्त्र प्रहरी बलको योगदान र त्यागको अपेक्षा गरिरहेका छन्”– सशस्त्र प्रहरी बलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उपप्रधानमन्त्री गौतमले फौजी सङ्गठनमा अत्यन्तै महत्वका साथ हेरिने कमाण्ड तथा स्टाफ कोर्षले सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने भन्दै नागरिकलाई निश्चिन्त तुल्याउन र हालका दिनमा झैँ मानवअधिकारको रक्षा गर्दै पूर्णरुपमा व्यावसायिक भई कार्य गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले सशस्त्र प्रहरी बलले आफ्नो मध्यमस्तरका अधिकृतमा नेतृत्व विकास गर्ने अभिप्रायले सञ्चालन गर्न लागेको कमाण्ड तथा स्टाफ कोर्ष महत्वपूर्ण आयाम भएको उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले लामो समयको प्रयासपछि कमाण्ड तथा स्टाफ कलेज सञ्चालनको स्वीकृति प्राप्त भएको बताउँदै करिब १८ महिना अवधिको यस तालिमपछि प्रशिक्षार्थी अधिकृतले त्रिभुवन विश्वविद्यालयबाट सुरक्षा, विकास तथा शान्ति अध्ययन विषयमा स्नातकोत्तर तहको शैक्षिक उपाधि प्राप्त बताउनुभयो ।
विश्वकै फौजी सङ्गठनमा व्यावसायिक प्रशिक्षणका लागि उपल्लोस्तरको मानिने ‘कमाण्ड तथा स्टाफ कलेज’ सशस्त्र प्रहरी बलमा हालै स्थापना भएपछि बलमा पहिलोपटक ‘कमाण्ड तथा स्टाफ कोर्ष’ सञ्चालन हुन लागेको हो ।
छ÷छ महिनाको तीन सेमेस्टरमा विभाजन गरी सशस्त्र प्रहरी बलको म्याण्डेटअनुसारका कार्यमा सैद्धान्तिक एवम् व्यावहारिक प्रशिक्षण दिइने उक्त कमाण्ड तथा स्टाफ कोर्षमा प्रशिक्षार्थीले आधुनिक प्रविधि एवम् सुविधाको उपयोग गरी प्रशिक्षण पूरा गर्नुपर्नेछ ।
फौजी सङ्गठनमा व्यावसायिक प्रशिक्षणका लागि महत्वपूर्ण मानिने स्टाफ कलेजमा सुरक्षा, विकास तथा शान्तिसम्बन्धी विषयको प्रशिक्षण हुनेछ । पछिलोपटक सञ्चालनमा आएको उक्त कोर्षमा १२ जना सशस्त्र प्रहरी बलका नायब उपरीक्षक समावेश रहेको सङ्गठनले जनाएको छ ।
प्रतिक्रिया