मुलुक अब आर्थिक विकासको चरणमा

इनेप्लिज २०७२ असोज १७ गते १२:४३ मा प्रकाशित

ramsaran-mahatविराटनगर, १७ असोज । अर्थमन्त्री डा रामशरण महतले नयाँ संविधान जारी भइसकेकाले मुलुक अब आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

विराटनगरमा जारी जैन धर्मावम्बीको चार्तुमासको अवसरमा जैन विश्व भारती संस्थानको नवौँ दीक्षान्त समारोहमा आज उहाँले हामी सधैँ गरिब देशको नागरिकका रुपमा बस्न सक्दैनौँ, अब आर्थिक विकासको कार्यमा ऐक्यबद्ध भएर लाग्नुपर्दछ भन्नुुभयो ।

उहाँले संविधानप्रति असन्तुष्ट भएका दललाई वार्ताका माध्यमबाट सहमतिमा ल्याउने प्रयास भइरहेको स्पष्ट पार्नुभयो ।

सोही अवसरमा उहाँले जैन विश्व भारती संस्थानका विभिन्न सङ्कायका विद्यावारिधि र स्नातक विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो कार्यक्रममा संस्थानका कुलपति वसन्तराज भण्डारीले विद्यार्थीलाई बधाई दिनुका साथै आधुनिक शिक्षाका साथै आध्यात्मिक भावना जागृत गराउन सक्रिय भएको पनि बताउनुभयो ।

पत्रकारसँग सङ्क्षिप्त भेटघाट

अर्थमन्त्री डा महतले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै भौगोलिक अवस्था जटिल रहेकाले चीनसँगको नाका तत्कालै खोल्ने अवस्था नरहेको बताउनुभएको छ ।

उहाँले नाकामा नाराबाजी गरेर जनता भोकभोकै पर्नेगरी आन्दोलन नगर्न आग्रह गर्दै बरु वार्तामा आएर समस्याको निकास खोज्न आन्दोलनरत पक्षसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया