पचास लाखको अकबरे खुर्सानी विक्री

इनेप्लिज २०७२ असोज १७ गते १२:३१ मा प्रकाशित

akabare-khursaniइलाम, १७ असोज । जिल्लाको पूर्वी नामसालिङ गाविसबाट मात्रै एकै याममा रू ५० लाखको अकबरे खुर्सानी बिक्री भएको छ ।

नामसालिङ–३, ४, ८ र ९ वडाका किसानले लाखौं रूपैयाँको खुर्सानी बिक्री गरेका हुन् । यहाँका किसानले एक रोपनीदेखि १० रोपनी जमिनमा ५० जनाभन्दा बढी किसानले अकबरेको व्यवसायिक खेती गर्दै आएका छन् ।

नामसालिङ–३ का कृषक बोधराज घिमिरेले खुर्सानीबाट रू डेढ लाखको लगानीमा १० रोपनी जग्गामा तीनहजार वटा बयरे र छारे जातका अकबरेको विरूवा लगाएर खेती सुरू गर्नुभएको छ । उहाँले साउनबाट धमाधम अकबरे खुर्सानी टिपेर बजारमा बिक्री गरिरहनुभएको छ ।

साउनयता ३५ मन (४० किलोको एक मन) खुर्सानी विक्री गरेर दुई लाखभन्दा बढी आम्दानी गरेको घिमिरेले बताउनुभयो । “बाली लगाएको छोटो समयमै आम्दानी गर्न सकिन्छ, अरू खेतीभन्दा सहज र कम लगानीमा धेरै फाइदा लिन सकिन्छ” उहाँले भन्नुभयो ।

नामसालिङ–८ का धु्रव राईले पनि पाँच रोपनी जग्गामा अकबरे खुर्सानी लगाएर एकै याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभएको छ । अकबरेमा यसपाली खासै रोगकीराको सङ्क्रमण नदेखिएको र मौसमसमेत अनुकूल भएकाले राम्रो उत्पादन भएको कृषक बताउँछन् ।

नामसालिङ–४ का गायत्री काफ्लेले अकबरे खुर्सानीबाट रु ६० हजार आम्दानी गर्नुभएको छ । महिनामा चारपटकसम्म टिप्न मिल्ने अकबरेबाट मनग्य आम्दानी भएपछि अर्काे वर्ष १५ हजार विरूवा लगाउने तयारीमा रहेको उहाँले बताउनुभयो ।

विदेशमा धेरै कमाई हुने सपना बुनेका युवाहरू पनि किसानको आम्दानी देखेर अकबरे खेतीमा लाग्न थालेका छन् । अहिले अकबरेको उत्पादन र माग दुबै बढी छ ।

यहाँ उत्पादन भएको खुर्सानीको मुख्य बजार इलाम हो । बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु दुई सयदेखि रु तीन सयको हाराहारीमा बिक्री भइरहेको छ । अकबरेबाट विभिन्न प्रकारका अचार बनाईने गरिएको छ ।

जिल्लाका बरबोटे, पञ्चकन्या, इलाम नगरपालिका, सोयाङ, नामसालिङ, गोदक, शान्तिडाँडाका किसानले गतवर्ष मात्रै ६१० मेट्रिकटन अकबरे खुर्सानी उत्पादन गरेकोमा १५० मेट्रिकटन बिक्री भएको थियो ।

अकबरे खुर्सानीबाट मात्रै किसानले गतवर्ष रु साढे सत्र करोड आम्दानी गरेको वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताउनुभयो ।

प्रतिक्रिया