मानव बेचबिखनविरुद्ध ‘एक्टिभ’ परियोजना सुरु

इनेप्लिज २०७२ असोज १६ गते ४:३० मा प्रकाशित

रत्ननगर (चितवन), १६ असोज । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सर्वसाधारण र समुदायमा सचेतना फैलाउन माइती नेपालले चितवनमा ‘एक्टिभ’ परियोजना सुरु गरेको छ ।

चितवन र सिन्धुपाल्चोक जिल्लाका सीमित गाविसमा समुदायको माध्यमद्वारा मानव बेचबिखनको अन्त्य (एक्टिभ) कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक मदनकुमार चौलागाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिन्धुपाल्चोक र चितवनका लागि प्रशासनिकसहित कुल रु ९९ लाखको कार्यक्रम सुरु गरिएको हो । जर्मनीमा रहेको आओ इन्टरनेसनलको आर्थिक सहयोगमा परियोजना सुरु भएको हो ।

चितवनको कविलास र दारेचोकमा उक्त कार्यक्रम लागू भएको चौलागाईंले जानकारी दिनुभयो । यी दुई गाविस राजमार्गको नजिक, बढी महिला बालबालिका शोषणमा पर्ने र प्रलोभनमा पर्ने देखिएकाले छनोट गरेर कार्यक्रम सञ्चालन गर्न थालिएको माइती नेपालले जनाएको छ ।

क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले डेढ वर्षसम्म कार्यक्रम सञ्चालन गरी समुदायलाई सशक्तीकरण गर्ने र सचेतना फैलाउने जानकारी दिनुभयो ।

माइती नेपालले चीनमा हुने जटिल खालको बेचबिखन रोक्न खासामा बसेर काम गर्दै आएको छ भने देशका विभिन्न जिल्लाका ११ वटा नाकामा बेचबिखनको निगरानी गर्दै आएको छ । धेरै चेलीलाई उद्धार गरेर सीपसमेत दिइसकेको छ ।

अहिले सुरु भएको एक्टिभ परियोजनामार्फत महिला बेचबिचन हुनबाट रोक्ने, महिलालाई सशक्तीकरण गर्ने, युवा बालबालिका तथा मजदुरलाई उचित सहयोग गर्ने र उद्धार गरिएकालाई सक्षम बनाउने कार्यक्रम रहेको दवाडीले जानकारी दिनुभयो ।

प्रतिक्रिया