आगलागीबाट सात लाखको क्षति

इनेप्लिज २०७२ असोज १६ गते ४:२७ मा प्रकाशित

aaglaagiबैतडी, १६ असोज । जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली गाविस–१ काँडा बजार नजिकै रहेको खोटो सङ्कलन केन्द्रमा आगलागी हुँदा करिब रु सात लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

आगलागीबाट सङ्कलन गरिएको करिब २५० वटा टिन खोटो जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ रु सात लाख जतिको क्षति भएको प्रारम्भिक अनुमान आएको छ, साथै द्ववारीकादेवी स्मृति प्रतिष्ठान भवनको बाहिरी भित्तामा क्षति पुगेको र प्रतिष्ठानभित्र रहेका कागजपत्र भने बाहिर निकाल्न सफल भएका छौँ ।”

आगो नियन्त्रण लिनेक्रममा प्रहरी हवलदार कृष्णचन्द, खोटो सङ्कलक दलबहादुर आलेको खुट्टामा पोलिएको र उहाँहरुको प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

हिमाल रोजीन कम्पनीले सङ्कलन गरेको खोटोको टिनमा शुक्रबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।

बैतडी सदरमुकामबाट दशरथचन्द नगरपालिकाको दमकल पुगेपछि मात्रै सो आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने एकीन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया