प्रशोधन केन्द्र स्थापनापछि चियाखेतीमा कृषक आकर्षित

इनेप्लिज २०७२ असोज १५ गते ४:३३ मा प्रकाशित

teaताप्लेजुङ, १५ असोज । ताप्लेजुङमा चिया प्रशोधन केन्द्रको स्थापनासँगै चियाखेतीतर्फ यहाँका किसानको आकर्षण बढ्दै गएको छ ।

अलैँचीखेतीबाट समेत आम्दानी लिँदै आएका किसानले अलैँची नहुने क्षेत्रमा चियाखेती सुरु गरेका छन् भने उनीहरुले उत्पादन गरेको चिया पनि ताप्लेजुङमै प्रशोधन हुन थालेको छ ।

पछिल्लो समय अलैँचीमा देखिएका विभिन्न रोगको सङ्क्रमणका कारण किसानले अलैँचीखेतीको विकल्प खोज्न थालेका हुन् । पाथीभरा चिया उत्पादक सहकारी संस्थाले सदरमुकाम नजिकै रहेको हाङ्देवा गाविसमा हालै चिया प्रशोधन केन्द्र स्थापना गरेपछि अहिले सदरमुकामसहित आसपासका गाविसका किसानले चियाको नर्सरीसँगै खेतीसमेत विस्तार गर्न थालेको पाइएको छ ।

प्रशोधन केन्द्रमा यसै वर्षदेखि चिया प्रशोधन हुन थालेको संस्थाका अध्यक्ष विदुर भट्टराईले बताउनुभयो । अहिले आसपासका किसानले प्रतिकिसान दशदेखि दुईसय रोपनीभन्दा धेरै क्षेत्रफलमा चियाखेती लगाउने तयारी गर्नुका साथै केही किसानले यसअघि नै बिरुवा रोपेको समेत भट्टराईले जानकारी दिनुभयो ।

चियाखेतीमा किसानको आकर्षण बढेसँगै चियाखेतीको व्यवस्थापनसम्बन्धी तालिम, गोष्ठीसमेत चल्न थालेका छन् । केही दिनअघि मात्रै केन्द्रीय चिया सहकारी सङ्घको आयोजनामा चियाखेती व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ ।

ताप्लेजुङमै प्रशोधन हुने र बजारीकरणमा समेत सहकारीले सहयोग गर्ने भएपछि आफूहरुलाई ढुक्क भएको किसानको भनाइ छ ।

प्रतिक्रिया