चितवन निकुञ्जको एक हजार २११ हेक्टर अतिक्रमण

इनेप्लिज २०७२ असोज १४ गते २:०८ मा प्रकाशित

chitwan-national-1रत्ननगर (चितवन), १४ असोज । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक हजार २११ हेक्टर जङ्गल अतिक्रमण भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले निकुञ्जको अतिक्रमणको अवस्था भयावह रहेको भन्दै अतिक्रमणका कारण वनजङ्गल मासिने, वन्यजन्तु प्रभावित हुने र भूक्षयको सम्भावना बढिरहेकाले अतिक्रमण हटाउनु अत्यावश्यक भएको बताउनुभयो । चितवन निकुञ्जको कुल क्षेत्रफल ९३२ वर्ग किमी छ ।

निकुञ्जले विगत केही वर्षदेखि अतिक्रमण हटाउन पहल गरिरहेको भए पनि सफल हुन सकेको छैन । निकुञ्जमा सबैभन्दा धेरै माडीको बाँदरझुलामा अतिक्रमण भएको छ । सो क्षेत्रमा ५५० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ ।

विश्वकै संरक्षित क्षेत्र भए पनि निकुञ्जको अतिक्रमण हटाउन नसक्दा अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । निकुञ्ज चितवन, मकवानपुर र नवलपरासीमा फैलिएको छ । चितवनको बाँदरझुलासहित बाल्मीकि आश्रम, मकवानपुरको सुनाचुरी क्षेत्रमा समेत अतिक्रमण बढ्दो छ ।

नवलपरासीको गजग्राह र त्रिवेणी सुस्तामा गरेर ६० हेक्टरमा अतिक्रमण भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै नवलपरासीको नयाँ बेलहानी क्षेत्रमा २४१, पिठौलीमा २७, चितवनको कुखुमखोलामा १५४ हेक्टर अतिक्रमण भएको निकुञ्ज प्रमुख कुँवरले जानकारी दिनुभयो ।

यस्तै चितवनको गीतानगर, पिप्ले मनहरी, कुमरोजलगायत क्षेत्रमा समेत अतिक्रमण भएको छ । निकुञ्जका अनुसार अतिक्रमित क्षेत्रमा अनुमानित दुई हजार ५०० घरधुरीभन्दा बढी बसोबास रहेको छ ।

अतिक्रमणका कारण चुरेपहाड तथा नदी क्षेत्रमा बाढी, पहिरो बढेको अध्ययनले देखाएको छ । चितवन निकुञ्जमा संरक्षित वन्यजन्तुको बसोबास रहेकाले संरक्षण प्रभावकारी बनाउनुपर्ने निकुञ्जको भनाइ छ ।

साथै बसिरहेका घरधुरीसमेत असुरक्षित रहेको र वन्यजन्तुको आक्रमणको त्रास बढ्दो रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया