शिविरमा तीन सय ८४ को कान परीक्षण

इनेप्लिज २०७२ असोज १२ गते ४:५३ मा प्रकाशित

earवालिङ, १२ असोज । स्याङ्जाको वालिङस्थित गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको दुई दिने निःशुल्क कान परीक्षण शिविरमा तीन सय ८४ जनाले सेवा लिएका छन् ।

गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ र समुदायमा आधारित पुनःस्थापना सेवाको संयुक्त आयोजना तथा कादुरी च्यारिटेवल फन्ड हङकङको सहयोगमा शिविर भएको हो ।

शिविरमा आएका तीन सय ८४ जनामध्ये ४३ महिला र ४२ पुरुष गरी ८५ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको र उनीहरुलाई आगामी मङ्सिरमा आइएनएफ हस्पिटल पोखरामा लगिने व्यवस्था मिलाएको जानकारी स्वास्थ्य केन्द्रका अध्यक्ष दिलीपप्रताप खाँणले दिनुभयो ।

शिविरबाट स्याङ्जासहित छिमेकी जिल्ला पाल्पा, पर्वत, गुल्मीका केही भेगका कानसम्बन्धी बिरामीले समेत उपचार पाएका छन् ।

शिविरमा नमस्ते फाउन्डेसन पोखराका कान रोग विशेषज्ञ चिकित्सक सुजीत सेनको टोलीले कानको परीक्षण गर्नुका साथै सेवा लिन आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरेको थियो ।

प्रतिक्रिया