एनआरएनए अभियानमा जीत-हारको अर्थ हुँदैन : भवन भट्

इनेप्लिज २०७२ असोज ११ गते १६:५५ मा प्रकाशित

Bhaban

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका वर्तमान उपाध्यक्ष भवन भट्ट दोस्रो कार्यकालका लागि पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दिने घोषणा गरेसंगै चर्चामा हुनुहुन्छ । जापानका सफल व्यवसायी तथा टीवीआई ग्रुपका अध्यक्ष भट्ट गैरआवासीय नेपालीहरुको अभिभावकसंगै नेपाली समुदायको हरेक समस्यामा हरपल सहयोग जुटाउने कार्यमा सकृय हुनुहुन्छ ।

एनआरएनएको स्थापनाकालदेखि सकृय भट्ट आगामी अक्टोवर १४ देखि १७ सम्म काठमाडौँमा हुन लागेको एनआरएनएको सातौंंमहाधिवेशन तथा विश्व सम्मेलनका लागि विश्वभरिका नेपालीहरुको जमघट सुरु भइसकेसंगै उहाँले पनि आफनो अभियान सुरु गर्नुभएको छ ।

प्रस्तुत छ नेपाल जापान डटकमका लागि सम्पादक आनन्द कोइरालाले उपाध्यक्ष पदका प्रत्यासी भवन भट्टसंग यसै विषयमा केन्द्री रहि गर्नुभएको कुराकानी संक्षेपमा-

दोस्रो पटक पनि उपाध्यक्ष पदमै उम्मेदवारी दिने घोषणा गर्नुभएको छ, किन ?
एनआरएनए एउटा अभियान हो । हामी यसका अभियन्ता हौ । दुई वर्ष पहिले हामीले उम्मेदवारी दिंदा गरिएको प्रतिवद्धता तथा एजेण्डा पूरा गर्न नपाउँदै मुलुकमा विनासकारी भूकम्प गएपछि हामी पुनःनिमार्णको काममा जुट्यौ । आफूले गरेका प्रतिवद्धता कार्यान्वयन गर्न अध्यक्ष शेष घलेले अध्यक्ष तथा मैले उपाध्यक्षमै पुन उम्मेदवारी दिन लागेका हौं ।

उपाध्यक्ष पद त कार्यकारी र लोकप्रिय पद होइन भनिन्छ, आँट गर्नुभएको भए त अध्यक्षमै पनि जित्नु हुन्थ्यो कि ?
हामी लोकप्रियता कमाउन, अध्यक्ष वन्न यो अभियानमा लागेको होइन । काम गर्ने मान्छेलाई सदस्यमा वसेर पनि काम गर्ने दायरा फराकिलो हुन्छ र लोकप्रियता कमाउन सक्छ । अभियानमा अगाडी नआउने र निस्कृय वस्ने साथीहरुलाई त यसको कुनै सवाल नै हुँदैन । तर हामी यो अभियानमा साधारण सदस्य हुदाँदेखि पनि आफ्नो सकृयता राखिरहेको सवैलाई विदितै छ । पदभन्दा पनि काम गर्ने अवसर र चाहनाको महत्व हुन्छ जस्तो लाग्छ ।

अध्यक्षमा शेष घले र तपाईले उपाध्यक्षमा पुरानै पदमा उम्मेदवारी दोहोर्याउनु हुने भएपछि सर्वसम्मत हुने संभावना कक्तिको छ ?
आजको दिनसम्म ६ जनाभन्दा वढी साथीहरुले आफनो उम्मेदवारी दिइसक्नु भएको छ । साथीहरुले आफै विश्वस्त भएर नै आउनु भएको होला । उहाँहरुका आफनै एजेण्डा र कार्यक्रमहरु होलान् । त्यस हिसावले मैले कसैलाई तपाई नआउनु होस् भन्न मिल्दैन । तर, कोही साथीहरु तपाई अगाडी वढनुस भन्नुहुन्छ भने त्यसलाई नकार्न मिल्दैन ।

सर्वसम्मत चयन हुने अवस्था भए त उदहारणीय हुन्थ्यो नि ?
त्यसलाई दुई किसिमले बुझ्दाँ हुन्छ । साथीहरुलाई म संस्थासंग जोडिएका कुनै पनि विषयमा ईगोका रुपमा नलिन आग्रह गर्दछु । फलानाले उम्मेदवारी दियो मैले दिइन, यो पदमा पुगेपछि अर्को स्टेपमा जानुपर्छ भन्ने मान्यताभन्दा मैले अलग प्रकारले सोच्ने गरेको छु । तर कसैले निर्वाचनमै भाग लिएर जाने भन्ने सोच लिएर आउनु हुनेहरुसंग हामीले आआफ्नो समूह, क्षेत्रको योगदानको कदर गर्नका लागि समुदायले नै चयन गर्ने भएकाले त्यसमा हामी आफै प्रष्ट भएर आउँदा राम्रो होला ।

प्रत्यक्ष निर्वाचन भएर आएको खण्डमा केही दम्भ राख्ने साथीहरु पनि हुनु भएकाले सहमति लेनदेनको विषय पनि भएकाले त्योभन्दा निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराएर आएको नै राम्रो हुन्छ भन्ने लाग्छ ।

नेपालमा गएको विनासकारी महाभूकम्पपछिको पुनःनिमार्णका लागि महत्वकाक्षी योजना नै सार्वजानिक गर्नुभएको छ । यदि तपाईहरु जो हालको कार्य समितिमा रहनु भएका पदाधिकारीहरु नेतृत्वमा आउनु भएन भने एनआरएनएको योजना नै कार्यान्वयन हुन सक्दैन भन्ने हो ?
हामी नेतृत्वमा नपुग्दैमा अहिले संचालनमा रहेका कार्यक्रमहरु स्थागित भएमा त्यो विडम्वना हुनेछ । जापान लगायतका विकसित देशहरुको उदहारण हेर्नुभयो भने त्यहाँ नेतृत्व परिवर्तन भए पनि एजेण्डाहरुले निरन्तरता पाइरहेको हुन्छ । हाम्रो संस्थामा पनि यस्तै हुन्छ भन्ने मेरो मान्यता हो । यदि नयाँ साथीहरु आएको खण्डमा पनि राम्रो कामको निरन्तरता दिनका लागि हामीले पनि पहल गर्छौ ।

हामीले अहिले संचालन गरेका कार्यक्रम व्यक्तिगत भन्दा पनि संस्थागत निर्णय भएर गर्न लागिएको कार्यक्रम भएकाले सवैले जिम्मेवार भएर काम गर्नुपर्छ भन्ने मैले लिएको छु ।

तपाईहरुले पुनःनिमार्णमा पुर्याउने सहयोग कार्यक्रमहरु तपाईहरु आफैले गर्ने कार्यक्रम हो कि नेपाल सरकारसंग पनि समन्वय गरेर गर्ने कार्यक्रमहरु हुन ?
केही साथीहरुलाई खस गरी नेपालका राजनीतिक दलका केही प्रतिनिधिहरुमा कुनै न कुनै रुपमा शंका र नराम्रो कुराहरु पुगेको पाएका छौ । हामीहरुलाई लिडर वन्ने चाहना र लोकप्रिय वन्नका लागि ती काम गरेका पनि होइनौ । तर पनि हामीहरु नेपाल सरकारको मापदण्ड र योजना अनुसार सवै निणर्यलाई कायान्वयन गर्न तत्पर छौ ।

हामीले हजार वटा घरको निमार्ण गर्ने योजना पहिल्यै सार्वजानिक गरिसकिएको थियो । त्यसलाई तयार गर्नका लागि सरकारी मापदण्ड पुरा गरेर काम गर्ने छौ ।

अझ हामी र हाम्रो संस्थाले अघि सारेको कार्यक्रम मध्ये नेपालका लागि नेपाली भन्ने नारा अनुसार काम गर्नेछौ । अहिलेसम्म नेपालको कुनै पनि काम गर्न विदेशी दातृ राष्ट्र र निकायको भर पर्ने परम्परा थियो । त्यो भन्दा केही भिन्न रुपले विदेशमा वस्ने नेपाली जो सक्षम भएकाहरुको सीप ज्ञान र क्षमता भएका नागरिकले यदि साच्चै सहयोग गर्ने हो भने नेपालीलाई आगामी दिनमा कसैको सहयोग आवश्यक पर्ने छैन ।

संस्थागत कुरा गरौ, एनआरएनएले नेपाल सरकारसंग राखेका विभिन्न माग मध्ये नागरिकताको माग एकातिर नेपालको संविधान २०७२ को धारा १४ ले सम्वोधन गरेको छ, अर्कातिर धारा २९१ ले वंशजको आधारमा पाउने अधिकार कटौति गरेको छ । भनौ कही न कही अंकुश लगाएको छ । यसलाई तपाईहरुले कसरी लिनु भएको छ ?
यस विषयलाई हाम्रा नेताहरुले पनि फरक ढंगले वुझिदिनु भयो । हामी पनि केही हदसम्म कमजोर भयौ । राज्यले हाम्रो मागलाई सम्मानित ढंगले संवोधन गर्नेछ भनेर । तर, अन्तिम चरणमा मेरै पहलमा नेपालको एक राजनीतिक दलको माध्यमबाट १६ औँ नम्वरमा हामीले यसको संशोधनको माग राखेका थियौ । हाम्रो माग पास हुन सकेन तर पनि हामीले विभिन्न संचार माध्यम तथा आफुले भ्याएसम्म यसको महत्व र नेपाललाई पुग्ने क्षतिको विषयमा जानकारी गराउन सफल भयौ ।

पार्टीका नेताहरुले आगामी दिनमा यस विषयमा पुनः छलफल गरेर सकारात्मक पहल गर्ने आश्वासन दिनु भएकाले हाम्रो माग सम्वोधन हुन्छ भन्ने विश्वास लिएका छौ ।

तपाईहरुले १८३ दिन विदेशमा वसेको जो कोही पनि एनआरएनए हो भनेर भन्ने, नेपाल सरकारले दुई वर्ष पुरा भएको व्यक्ति मात्र सदस्य हुनुपर्छ भनेर अथ्र्याईरहेको छ, यस विषयमा कसरी पहल गर्दै हुनुहुन्छ ?
नयाँ संविधानको धारा २९१ ले पनि स्थायी वसोवास पत्र पाएकाहरुलाई एनआरएन भनिसकेको अवस्थामा हाम्रो मागहरु पुरा गर्न सरकार सकारात्मक हुन्छ भन्ने बिश्वाश गरेका छौ । टेक्निकल्ली नमिलिरहेको कुराहरुन् छ तर पनि हाम्रो मागहरु ट्रयाकमा आउछ भन्ने लागिरहेको छ । किनभने एउटाले दुर्इ बर्षको समयसीमा तोकिरहेको छ भने अर्कोले स्थायी वसोवासपत्र लिनेबित्तिकै गैरआवसियामा पर्छ र राष्ट्रिय नैसर्गिक अधिकारबाट बन्चित हुन्छ भनिरहेको छ । यो दुइटालाई मिलाउदा बल्ल हामीले उहाँहरुलाई बुझाउन सक्छौ र अझ वढी अधिकार सुरक्षित राख्न सक्छौ भन्ने लाग्छ ।

पछिल्लो संसोधित बिधानले एनसीसी निर्बाचनमा नसमेटेको भन्दै खास गरी बिद्याथसर््हरु तपाईहरुसंग रुष्ट देखिन्छन, कसरी समेट्न र समन्वय गर्नुहुन्छ विद्यार्थीहरुलाई ?

यसको लागि त एनआरएनको पूरै सोच र संरचना नै परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ । कस्तो छ भने यसमै लाग्ने साथीहरुको पीडा पनि उस्तै छ । जता गयो त्यहाँका साथीहरुको पीडा उस्तै छ, देशैपिच्छे समस्या छ । विद्यार्थीहरुको आफ्नै समस्या छ । साहित्यकारहरुको आफ्नै समस्या छ । ब्यापारीको आफ्नै समस्या छ ।

एनआरएन भनेको मुलुक बाहिरको मुलुक हो । त्यहाँ विभिन्न प्रकारका संगठनहरु रहेका छन । जो जुन क्षेत्रसंग सम्बन्धित रहेका छन त्यो संगठनमा लगेर आफ्नो अधिकार प्राप्त गर्नलाई लागिरहनुभएको छ । आफु जुन क्षेत्रमा हुनुहुन्छ र जुन मुलुकमा हुनुहुन्छ त्यो क्षेत्र बाहेक अरुको ज्ञान नहुनु स्वाभाविक नै हो त्यसैले सबैले आफ्नो लागि आफैले केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्न जरुरी छ ।

जुन संगठनसंग आबद्ध भए पनि आफ्नो एउटा भिजन हुनुपर्छ । त्यहाँबाट समधान हुन नसकेका समस्या मात्र सम्बन्धित ठाउमा पुर्याउन सजिलो हुन्छ । सबै संगठनसंग समन्वय गरेर अगाडी बढ्नसक्ने खुबी एनआरएनमा हुन जरुरी छ जस्तो लाग्छ । सबैको समस्या बुझ्न र समधान गर्न सक्ने साझा थलोको रुपमा सक्षम एनआरएन भए मात्र समस्याको समाधान हुनसक्छ । नेपालीको पचिहन भएका बिदेशमा बस्ने सबैलाई समेट्नसक्ने एउटा संस्थाको जरुरी देखिन्छ । कुनै पनि नेपालीलाई आफ्नो अधिकारबाट छुटाउन हुन्न भन्ने मलाई लाग्छ । व्यापारी व्यापार क्षेत्रकै लागि लडने, विद्यार्थीहरुका लागि विद्यार्थीहरु नै आफैले समस्याको समाधार गर्ने जस्तै सवैलाई समेटेर काम गर्ने संरचना वनाउनु अवको अभियान आवश्यक छ ।

एनआरएनए स्थापना भएको लामो समय बितिसके पनि यसको संगठनिक संरचना निकै कमजोर देखिन्छ, नेता वढी कार्यकर्ता कम भएको संस्था जस्तो देखिन्छ यस्तो किन भएको होला ?

यो अभियानलाई मान्छेले आफ्नो स्टाटसको रुपमा ठान्न थाले । बिदेशमा अलिकति स्थापित भैसकेपछि आफु पछाडी पर्ने हो कि भन्ने डरले मात्र संस्थामा लागेको देखियो । देखावटी रुपमा उपस्थित हुनको लागि मात्र प्रबासी नेपालीहरु सक्रिय भएको देखियो । आफ्नो हैसियत देखाउनका लागि मात्र संस्थामा लगेपछि संस्था कम्जोर हुनु स्वाभाविक नै हो । यो भोलिन्टियरहरुको संस्था हो भन्ने कुरा बुझ्न आवश्यक छ । यसमा लगिसकेपछि आफ्नो क्षमता देखाउन नसक्दा संस्था नै कम्जोर भएको देखिन्छ । गर्नुपर्ने कामहरु धेरै छन त्यसलाई पुरा गर्नको लागि तत्परता देखाउने साथीहरुको कमीले गर्दा नै यो समस्या आएको हो ।

पिपुल्स टू पिपुल्स रिसोर्सले नै काम गर्ने बलियो एसोसिएसन बनाउन सक्नुपर्छ जसका लागि सबैसंग सहकार्य गर्न जरुरी देखिन्छ । यी विषयमा हामीले अहिलेसम्म फोकस नै गर्न सकेका छैनौ । बिदेशमा बसेपछि बिदेशी ढंगले सोच्न सक्नुपर्दछ । केही सिमित मानिसको स्वार्थले गर्दा पनि राम्रा मान्छेहरु यहाँ अट्न नसकेको देखिन्छ । जसले हाम्रो कम्युनिटीलार्इ बिकास गर्न सकिरहेका छैनौं । त्यसैले त्यस्ता मान्यताहरु हामीले तोड्न सक्नुपर्छ । हामीले हाम्रो क्षमताले भ्याएसम्मको रिसोर्सहरु प्रयोग गरेर नेटवर्कलाई प्रयोग गरेर काम गर्नुपर्ने आवश्यकता छ ।

एआरएनए संस्थालाई नेपालीहरुको साझा सस्था भनिन्छ तर कार्यान्वयन भएको पाइदैन, तपाईहरुलाई प्रसंशाभन्दा आलोचना बढी गरिएको पाइन्छ किन यस्तो भयो ?

जो साथीहरु यो संस्थालाई विस्तार गर्न रातदिन लागिरहनुभएको छ ती साथीहरु पनि यो आरोपमा पर्छन, यो देख्दा दुःख लाग्छ । सबै साथीहरु त्यस्ता छैनन् जसको कामलाई आलोचना मात्र गर्नु परोस् । केही साथीहरु यस्ता छन जसलाई जति प्रशा गरे पनि कम हुन्छ तर सबलाई एकै दर्जामा राखेर हेर्दा चित्त दुख्नु स्वाभाविक नै हो । राष्ट्रकै लागि केही गर्नुपर्छ भनेर लाग्नुपर्ने मान्यता हुँदाहुँदै पनि केही साथीहरु त्यसको लागि तयार भएको देखिदैन जसले गर्दा राम्रो काम गर्ने पनि यो आरोप खेप्न बाध्य भएका छौं ।

तपाइलाई एनआरएनए संस्थाले पर्यटन प्रमुखको जिम्मेवारी दिएको छ, भूकम्पपछिको नेपालमा तपाइलाई निकै चुनौती थपिएको छ, कसरी समन्वय गर्दै हुनुहुन्छ ?

नेपालको पर्यटन प्रवद्र्धनमा हामी सकृय भएर लागेका छौ । हाम्रो कार्यक्रमको योजना अनुसार काम गर्न हामी अभागी भयौ । गत बैशाख १ देखि हामीले अतिथि देभो भवः प्रोजेक्ट बनाएका थियौ । नेपालका पर्यटन उद्योगसंग सम्बन्धितहरुलाई बोलाएर अभयान सुरु हुने थियो । हामीले कार्यक्रमको मिति पनि तय गरेका थियौं । तर, त्यो भन्दा पहिले नै भूकम्पमा पर्यौ र त्यो प्रोजेक्ट पुरा हुन सकेन । हाम्रो उद्देश्य भनेको २०१७ सम्म अहिलेको दोब्बर ८ लाख बाट १६ लाख पर्यटक नेपाल पुर्याउने थियो । यो अभियानबाट म पछि हट्दिन । यसलाई भने म पुरा गरेर छोड्छु ।

म सबैलाई अनुरोध गर्छु कि नेपालको लागि पैसा माग्दै नहिडौं, हामीले कुनै विदेशीले भेट्यौ भने कृपया नेपाल गैदिनुस मात्र भने पुग्छ । तर अहिले त चुनौती नै छ यसमा नेपालका होटल ब्यबसायी पनि मारमा परेका छन । नेपालको इन्टरनेसनल फेस्टिभल तथा पर्यटन प्रबद्र्धनका लागि गरिने काम कुरा सधै जारी राख्ने कुरामा सधै लागिरहने छु । गार्हो त अवश्य छ तर सामना गरेर अघि बढ्ने प्रयास गर्नुपर्छ ।

नेपालको समग्र पर्यटन प्रवर्धन गर्न सबैभन्दा आधारभूत प्राथमिक तहमै समस्याहरु देखिएको छ । त्यसमा कस्तो सुधारको आवश्यकता देख्नु भएको छ, कस्तो अध्ययन गर्नु भएको छ ?

अहिले त हामीले धेरै एप्रोच पनि गर्यौ, हाम्रो एप्रोच अनुसार नै काम भइदियो सौभाग्यवश सरकारले पनि भिषा प्रोसेसलाई सजिलो बनादिएको छ, छिटो बनाई दिएको छ ।

भिषा लिनुभन्दा पनि हाम्रो एउटै मात्र देश हो जहाँ पहिलोपल्ट जाँदाभन्दा पनि दोस्रो पल्ट जाँदा भिषा शुल्क महँगो पर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । यस्तै विदेशी पाहुना आउँदा केही गर्न नसके पनि हर्षित भएको देखाइदिने संस्कार सिकाउनु आवश्यक देखिन्छ । सफा गर्न नसके पनि फोहोर नगर्ने संस्कार सिकाउने, पर्यटकलाई सही सूचना दिन ठाउँ ठाउँमा सूचना केन्द्र स्थापना गर्ने तथा हटलाइन व्यवस्था गर्नु आवश्यक छ ।

तपाईले समाजसेवाको क्षेत्रमा विभिन्न कार्यक्रम घोषणा गर्नुभएको थियो ती कार्यक्रमहरु कसरी कार्यान्वयन भैरहेको छ ?
ती मेरा व्यक्तिगत कार्यक्रमहरु थिए । पछि एनआरएनएको उपाध्यक्ष भएपछि एक दिन एक दान भन्ने कार्यक्रम बनाएर पाँच हजारदेखि वीस लाखसम्मको वजेटमा कसैको सहयोगी हुनसक्छु भनेर सहयोग गरे । जुन आगामी दिनमा विस्तृत विवरण सहित पुस्तकको रुपमा समेटिएर आउँदैछ ।

यो कार्यक्रमको वारेमा अलिक प्रकास पारी दिनु न ?
यो ३६५ दिनमा प्रत्येक दिन गरेको कामको विवरण फेसवुक मार्फत पनि हेर्न सक्नुहुन्छ । उदहारणका लागि एउटा दृष्टिविहिनहरुको आश्रममा एक वर्षका लागि चामल किनिदिएको थिएँ । यस्तै एकजना महिलाले एक्लै १५ जना वालवालिकाहरुलाई घरैमा पाल्नुभएको रहेछ। उनीहरुलाई आलु खान मन लागेको भन्नुभयो एक वर्ष पुग्ने गरी आलु किनिदिएँ । कोही विरामी भएर अस्पतालमा अप्रेसन गर्न नसक्नेहरुका लागि अस्पतालको सम्पूर्ण खर्च व्यवस्था गरियो, कम्वल नपाएर चिसोमा वस्नु भएका वृद्धवृद्धाहरुलाई कम्वलहरु वितरण गर्ने, बिदार्थीहरुलाई कपि कलम बाँड्ने, सीप भएर पनि कामगर्ने साधान नभएर बेरोजगार भएकालाई उनीहरुको सीप अनुसारको साधन किनिदि, जस्ता विभिन्न विधामा लगातार सहयोग गर्ने अभियान हो ।

तपाई एकजना सफल व्यवसायी पनि हुनुहुन्छ, नेपालमा पर्यटन प्रवद्र्धन गर्नका लागि वीवी एयरवेजको स्थगित भएको काम पुनः थालनी गर्ने घोषणा गर्नु भएको छ यसवारेमा प्रकाश पारिदिनु न ?

वीवी एयरवेज वायुसेवा हामीले २०१२ सालमा सुरु गरेका थियौ । चार महिनाको उडानपछि हामीले तत्कालका लागि जहाजको समस्याका कारण उडान स्थागित गरेका थियौ । यो कार्य आगामी डेढ वर्ष पश्चात पुनः सुचारु हुने जानकारी दिन चाहन्छु ।

तत्कालिन समयमा हाम्रो हवाई सेवा सुरु भएपछि ६० हजार जापानीहरु नेपाल गएका थिए । अहिले घटेर २२ हजार हाराहारीमा पुगेको छ । यसलाई सुधार गर्न हामीले यसमा लागि पर्नैपर्छ । यसका लागि हामी सचेत भएर गृहकार्य अघि वढाई रहेका छौ ।

अन्त्यमा तपाईले उम्मेदवारी दिनु भएको छ, तपाइलाई नै जिताउनु पर्छ, चयन गर्नुपर्छ भनेर विश्वभरिका गैर आवासीय नेपालीहरुलाई के–कसरी अपिल गर्नुहुन्छ ?

म जित्नको लागि उठेको होइन । जित र हार भनेको यो अभियानमै हुँदैन, अभियानमा लाग्नु नै जित हो । म जहिले पनि साथीहरुलाई भन्छु कि तपाई आफ्नो देश, घरपरिवा छोडेर हिड्नुभएको छ । केही गरौं भनेर ठूलो त्याग गरेर हिड्नु भाको छ भने अब यसलाई तपाइले चुनाबमा जित्दा पूरा हुने र हार्दा नहुने भन्ने हैन ।

मेरो एउटै अनुरोध के हो भने समाजलाई मेरो बिचारहरु, काम गराईहरु आवश्यक छ, समुदायमा बस्दा राम्रो हुन्छ भन्ने लाग्छ भने मलाई अगाडी बढाए राम्रो हुन्छ अथवा धेरै समयदेखि लागिरहनु भएको छ, तपाइले काम नगरे पनि हुन्छ भन्ने साथीहरुलाई लाग्छ भने मलाई टाढा राखिदिए हुन्छ ।

मेरो मतलब के हो भने म निर्वाचन हारे भने मेरो के के न गुम्यो भन्ने पक्षमा छैन, त्यो आकाशै खसेझैँ पिर गर्नेवाला छैन । किनभने हारेमा आफ्नै दुनियामा झन् रमाउन पाउँछु । यसको अर्थ म निष्क्रिय हुन्छु भन्ने होइन ।

प्रतिक्रिया