नेकपा माओवादीद्वारा अघोषित नाकाबन्दीको विरोध

इनेप्लिज २०७२ असोज १० गते १४:०६ मा प्रकाशित

काठमाडौँ, १० असोज । नेकपा माओवादी भारतको अघोषित नाकाबन्दीविरुद्ध आन्दोलनमा उत्रिएको छ ।

माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सोमबारदेखि नेपालमा भारतीय टेलिभिजन च्यानल, चलचित्र र विज्ञापन बन्द गर्ने जानकारी दिनुभयो । त्यसैगरी, आन्दोलनको क्रममा भारतीय नम्बर प्लेटका गाडीसमेत नेपालमा गुड्न नदिने दृढता उहाँले व्यक्त गर्नुभयो ।

नाकाबन्दीविरुद्ध वैकल्पिक आपूर्ति व्यवस्थाका निम्ति तुरुन्तै पहलकदमी लिन र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गरी आन्तरिक आपूर्तिलाई सहज बनाउन सो पार्टीले माग गरेको छ ।

सो पार्टीले आजै भारतीय हस्तक्षेपविरुद्ध रत्नपार्कबाट लैनचौरस्थित भारतीय दूतावाससम्म विरोध प्रदर्शन पनि गरेको छ ।

प्रतिक्रिया