जोखिममा पर्दा बालबालिका खुला चौरमा पढ्न बाध्य

इनेप्लिज २०७२ असोज ९ गते ४:०४ मा प्रकाशित

प्यूठान, ९ असोज । लगातारको पहिरो र भूकम्पले भत्किएको भैरवनाथ प्रावि पण्डेडाँडा खलङ्गाको भवन स्थानान्तरण नहुँदा विद्यार्थी जोखिममा पढ्न बाध्य छन् ।

त्यस्तै केही कक्षाका विद्यार्थीलाई खुलाचौरमा पढाउने गरिएको छ । विसं २०७० को लगातारको पहिरो र गत वैशाखमा गएको भूकम्पका कारण सो विद्यालयको सात कोठे भवन पूर्णरुपले जोखिमपूर्ण अवस्थामा पुगेको छ ।
विद्यालयको अवस्थाका विषयमा जिल्ला दैवीप्रकोप समितिसँगै प्रहरीले समेत अनुगमन गरी झन्डै पाँच महिना पहिला विद्यालय भवन अन्यत्र स्थानान्तरण गर्नुपर्ने बताए पनि आर्थिक अभावमा विद्यालय भवन स्थानान्तरण गर्न नसकेको विद्यालयले जनाएको छ । “विद्यालयको आन्तरिक स्रोत छैन र जिल्लास्तरबाट आर्थिक सहयोग नहुँदा विद्यार्थीलाई जोखिममै पढाउन बाध्य भएका छौँ ।” विद्यालयका प्रधानाध्यापक मधुसुधन खड्काले भन्नुभयो–“जोखिमले गर्दा विद्यार्थीसँगै शिक्षक पनि जोखिममा परेका छौँ ।”

स्थानीयले विद्यालय भवन निर्माणका लागि जग्गाको व्यवस्था गर्न नसक्दा थप समस्या भएको छ । जिल्ला शिक्षा कार्यालय प्यूठानले जिल्लामा यस वर्ष भूकम्प तथा उच्च जोखिममा रहेका विद्यालय भवन निर्माणका लागि कार्यक्रम केन्द्रित गरेको भन्दै विद्यालयले अन्य स्थानमा जग्गाको व्यवस्था गरेमा भवन निर्माणका लागि सहयोग गर्ने जनाएको छ ।

जग्गाको व्यवस्था भएमा यो वर्षनै विद्यालयको भवन निर्माणमा सहयोग गर्ने जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया