उपयुक्त ठाउँ नदिएको भन्दै भूकम्पपीडित आफैँले जग्गा खोजेर बसे

इनेप्लिज २०७२ असोज ७ गते ४:०९ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), ७ असोज । चितवनको विकट गाविसका भूकम्पपीडितले उपयुक्त स्थान नदिएको भन्दै आफैँले सुरक्षित स्थान खोजेर बस्न थालेका छन् ।

चितवनको काउले र लोथरका गरी ४१ घरपरिवार भूकम्पपीडित आफैँले स्थान खोजेर बसेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिनुभयो ।

समितिले काउलेका २९ घरका लागि सिँराइचुली मन्दिरको चौरमा र लोथरको यसिखाईका १२ घरलाई यौरालिटारमा सार्ने निर्णय गरेर काम सुरु गरेको थियो । तर भूकम्पपीडितले उपयुक्त स्थान नभएको भन्दै जान मानेनन् । अहिले आफ्नो घर नजिकै खुला क्षेत्र खोजेर उनीहरु बस्न थालेका छन् । उनीहरुका लागि विभिन्न सङ्घसंस्थाले घर बनाएको समितिले जनाएको छ ।

अन्य केही भूकम्पपीडित सर्न मानेका छैनन् भने धेरैजसो घर बनेर सरिसकेको समितिले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले उनीहरुले सर्न इच्छा नदेखाउँदा व्यवस्थापनमा कठिनाइ आएको बताउनुभयो । जिल्लामा ४४६ घर भूकम्पपीडितलाई स्थानान्तरण गर्ने निर्णय भएको थियो । चितवनको जुटपानीमा काउले गाविसको गोछिवाङका २४ घर ल्याएर राखिएको छ ।

जुटपानी सदरमुकाम नजिकसम्म परेको क्षेत्र र व्यवस्थित घर बनाइएको छ । अन्य क्षेत्रका भूकम्पपीडितले पनि जुटपानीको जस्तै घर र स्थान दिनुपर्ने माग गर्दै आएका छन् । त्यसैले पनि व्यवस्थापनमा ढिलाइ भइरहेको छ । चितवनमा कुल १५ हजारभन्दा बढी घर भूकम्पले क्षति पु¥याएको तथ्याङ्क छ । तीन हजारभन्दा बढी घर पूर्ण क्षति भएका छन् । अहिले पनि भूकम्पपीडित भन्दै समितिमा निवेदन आउने क्रम भने रोकिएको छैन । चितवन प्रशासनले अनुमगनपछि मात्रै उनीहरुका बारेमा निर्णय हुने जनाएको छ ।

प्रतिक्रिया