गुरु आन्दोलनमा, शिष्य मर्कामा

इनेप्लिज २०७२ असोज ६ गते ८:२४ मा प्रकाशित

काठमाडौँ, ६ असोज । पशुपति वनकालीस्थित नेपाल वेद विद्याश्रममा कार्यरत आचार्य (शिक्षक)ले स्थायीको माग गर्दै २० दिनदेखि पठनपाठन बन्द गरेपछि २५० विद्यार्थी प्रभावित भएका छन् ।

विसं २०३१ देखि २०५६ सम्म गुठी संस्थानले सञ्चालन गरेको विद्याश्रमलाई २०५६ साउनदेखि पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गर्दै आएको थियो । विद्याश्रममा तीन जना आचार्य स्थायी भएकामा बाँकी आचार्य र कर्मचारी गरी १८ जनाले पनि स्थायी हुन पाऊँ भनी माग राखेकाले विद्यार्थीको पढाइ प्रभावित भएको हो ।

विद्याश्रम सञ्चालक समितिका अध्यक्ष एवम् कोषका कोषाध्यक्ष तारानाथ सुवेदी कोष नै आर्थिक सङ्कटबाट गुज्रिएकाले तत्काल समस्या समाधान गर्न नसकिएको बताउनुहुन्छ । “समस्या समाधान गर्न तयार छौँ, यसका लागि विद्याश्रम सञ्चालनसम्बन्धी नियमावली संशोधन गरिएको छ, यस्तो पृष्ठभूमिमा आदर्श परम्परा, संस्कृति र महत्वलाई व्यक्तिगत स्वार्थका लागि बेच्नुभएन”–उहाँले भन्नुभयो ।

विद्याश्रमका प्रधानाचार्य केशवप्रसाद अधिकारीले आचार्यहरुको समस्या समाधानमा कोषले तदारुकता नदेखाएकाले कक्षा बन्द भएको बताउनुभयो । विद्याश्रमका विद्यार्थी जनार्दन अर्याल लामो समयदेखि अध्ययन अध्यापन कार्य बन्द हुँदा निर्धारित पाठ्यक्रम नसकिने गरेको गुनासो गर्नुहुन्छ ।

कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले आफ्नो समस्याका कारण विद्यार्थीको पठनपाठनमा अवरोध गर्नेजस्तो घृणित काम वैदिक गुरुबाट हुनु दुःखलाग्दो भएको बताउनुभयो ।

“कोषको पदपूर्ति समितिले तीन जनालाई स्थायी गर्न मङ्गलबारदेखि प्रक्रिया सुरु गरेको छ, अस्थायीलाई पनि के गर्न सकिन्छ भने सञ्चालक परिषद्ले समिति गठन गरी अध्ययन सुरु गरिसकेकाले आन्दोलनको आवश्यकता छैन, समस्या समाधानका लागि हामी तयार छौँ”–उहाँले भन्नुभयो ।

प्रतिक्रिया