चितवनका अस्पतालमा इन्फ्लुन्जा ए का बिरामी बढे

इनेप्लिज २०७२ असोज ६ गते ७:४३ मा प्रकाशित

Chitwan_district_locationचितवन, ६ असोज । मैसममा आएको परिवर्तनसँगै चितवनका अस्पतालमा इन्फ्लुन्जा ए का बिरामी बढ्दै गएका छन् ।

अहिले अस्पतालमा इन्फ्लुन्जा ए का कारण ज्वरो, रुघाखोकीका बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा बिरामीको चाप बढेसँगै बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता आएको छ ।

दुई साता अगाडि भरतपुर अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या करिब १४० जना रहने गरेका थिए भने अहिले दैनिक २०० जना बिरामी नाघेका अस्पतालका फिजिसियन डाक्टर कालिदास अधिकारीले बताउनुभयो । पहिलेभन्दा दैनिक ८० जनाको हाराहारीमा बिरामीको सङ्ख्या बढेको उहाँले बताउनुभयो । उहाँले भिडभाडमा नहिँड्न, हिँड्नु पर्दा मास्क प्रयोग गर्न, तरल पदार्थ बढी प्रयोग गर्न, रुघाखोकी लागेकासँग नजिकमा नरहन सुझाव दिनुभयो ।

योसँगै अहिले निजी अस्पताल र क्लिनिकमा पनि बिरामीको चाप बढ्दै गएको डा अधिकारीले बताउनुभयो । निजी अस्पतालमा बिरामी चिकित्सकको सल्लाह लिन आउने धेरै भएपनि भर्ना भएर उपचार गराउनेको सङ्ख्यामा भने कमी आएको छ जसका कारण भरतपुर अस्पतालमा भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवराज भुर्तेलले जानकारी दिनुभयो ।

सरकारी अस्पताल भरतपुुर अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि बिरामीलाई उपचार गर्न निकै कठिन भएको मेडिकल सुपरिन्टेन्डेन्ट भुर्तेलले बताउनुभयो । बिरामीको चाप बढेसँगै आकस्मिक वार्डमा पनि दैनिक २५ देखि ३० जना बिरामी आउने गरेका छन् ।

हाल ४३५ श्ययामा सञ्चालनमा रहेको भरतपुर अस्पतालमा श्ययाको अभाव भएपछि बिरामी भुइँमै बसेर उपचार गर्न बाध्य भएका हुन् । हरेक दिन भरतपुर अस्पतालमा ५० जना बिरामी भुइँमा उपचार गराउन बाध्य भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर भुर्तेलले जानकारी दिनुभयो ।

विशेषगरी बच्चा, सुत्केरी र मेडिकल वार्डमा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको भुर्तेलको भनाइ छ ।

चितवनसहित मकवानपुर, नवलपरासी, तनहँु, गोरखा, स्याङ्जा, बारा र पर्सा जिल्लाबाट बिरामी भरतपुर अस्पतालमा उपचारका लागि आउने गर्दछन् ।

प्रतिक्रिया