बर्दियामा यातायात सञ्चालनमा आएपछि सर्वसाधारण खुसी

इनेप्लिज २०७२ असोज ६ गते ४:३३ मा प्रकाशित

गुलरिया (बर्दिया), ६ असोज । बर्दियामा लामो बन्दपछि यातायात सञ्चालनमा आएपछि सर्वसाधारण खुसी भएका छन् । चवालीस दिन लामो लगातारको बन्दले यातायात व्यवसायी र मजदुुर मारमा परेको भन्दै बन्दको अवज्ञा गरेर मङ्गलबारदेखि यातायात सञ्चालन गरिएको हो ।

बर्दियामा मात्र यातायातका साधन बन्द गर्ने अवस्था देखापरेकाले आन्दोलनरत पक्षसँग समन्वय गर्दा बन्द फिर्ता अस्वीकार गरेपछि स्वतःस्फूर्त रुपमा मङ्गलबारदेखि यातायात सञ्चालन गरिएको कृष्णसार यातायात व्यवसायी सङ्घ बर्दियाका अध्यक्ष शम्भुप्रसाद रिजालले बताउनुभयो ।

लामो दूरीका २४ बससहित जम्मा १५० गाडी रहेको कृष्णसार बस व्यवसायी समितिले ४४ दिनको बन्दबाट झन्डै ६ करोड बढी घाटा भएको जनाएको छ । बैंकको ब्याज र किस्ताको यातायात व्यवसायीका पीडा र मजदुरको रोजीरोटी बन्देज भएको भन्दै अध्यक्ष रिजालले अब जस्तोसुकै अवस्था आए पनि गाडी नरोक्ने बताउनुभयो ।

“संविधान घोषणा नहुँदासम्म हामीले आन्दोलनरत पक्षलाई सहयोग गर्‍यौँ अब हामीलाई सहयोग गर्नुपर्दछ”, अध्यक्ष रिजालले भन्नुभयो–“यातायातका साधनलाई स्वतन्त्र र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहयोग गरिदिन आन्दोलनरत पार्टी र संस्थालाई अनुरोध गर्दछौँ ।”

कसैबाट गाडी तोडफोड भयो भने हामी पार्टी र संस्था भन्दैनौँ तोडफोड गर्ने व्यक्तिका विरुद्ध उत्रिने भन्दै अध्यक्ष रिजालले नजिकिँदै गरेको विजयादशमीमा यात्रुको समस्यालाई मध्यनजर गर्दै काठमाडौँमा अग्रिम टिकट बुकिङ गर्नुपर्ने भएकाले बाध्य भई यातायात खुलाएको बताउनुभयो ।

प्रतिक्रिया