बालविवाहमुक्त र नमुना स्वास्थ्य गाउँ बनाउँदै बालबालिका

इनेप्लिज २०७२ असोज ६ गते १:५४ मा प्रकाशित

बैतडी, ६ असोज । बालविवाहमुक्त गाविस र नमुना स्वास्थ्य गाउँ बनाउन बालबालिका जुटेका छन् । कुवाकोट गाविसमा बालविवाहको क्रम नरोकिएकाले मावि तहका बालबालिका मिलेर बालविवाह न्यूनीकरण गर्न जुटेका हुन् ।

बालविवाहले पर्ने असरका बारेमा विद्यालयस्तरदेखि गाउँसम्म सचेतना जगाउन सङ्गठित रुपमा लाग्न थालेका हुन् । कुवाकोट स्वास्थ्य चौकीको संयोजनमा विद्यार्थीले संस्कृतिद्वारा स्वास्थ्य प्रवद्र्धन समूह गठन गरी बालविवाह र नमुना स्वास्थ्य गाउँ बनाउन पहल थालेको समूहका संयोजक लीलाधार पन्तले बताउनुभयो ।

“बालविवाहका कारण किशोरकिशोरीको समग्र जीवन अन्धकार हुने भएकाले विद्यार्थीले नै बालविवाह रोक्नका लागि पहल गर्न थालेका छन्”, संयोजक पन्तले भन्नुभयो । बालबालिका आफैँ अग्रसर भएका छन् । भूमिराज माविका सबै अभिभावक तथा सरोकारवालाको भेला बोलाई बालविवाह रोक्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रत्येक गाउँमा गएर बालविवाहले पार्ने असरका बारेमा सबै अभिभावकलाई जानकारी दिने र छोराछोरीको विवाह २० वर्षभन्दा कम उमेरमा नगर्न सल्लाह दिने गरेका छन् । विद्यालयका किशोरकिशोरीले समेत आफूहरु भागेर विवाह नगर्ने तथा बालविवाह गरिरहेको जानकारी पाएमा त्यस्तो विवाहलाई समेत रोक्ने रणनीति बालबालिकाले लिएका छन् ।
नमुना स्वास्थ्य गाउँ निर्माणका लागि प्रत्येक तीन–तीन महिनामा स्वास्थ्य संस्थामा आएर छलफल गर्ने निर्णयसमेत बालबालिकाले गरेको कुवाकोट स्वास्थ्य चौकी प्रमुख लोकेश जोशीले बताउनुभयो । अभियानलाई सहयोग पु¥याउनका लागि उनीहरुले प्रत्येक विद्यार्थीबाट मासिक पाँच रुपैयाँका दरले बचत गर्ने गरेका छन् ।

प्रतिक्रिया