पति गुमाए पनि संविधान लेख्न पाएँ: सभासद् खड्का

इनेप्लिज २०७२ असोज ४ गते ४:२९ मा प्रकाशित

बागलुङ, ४ असोज । संविधानसभाको उपनिर्वाचनमा विजयी हुँदा सभासद् चम्पादेवी खड्कासँग एउटै सपना थियो, पतिको संविधान लेख्ने इच्छा पूरा गर्नु । आज उहाँको सपना मात्र साकार भएको छैन, करोडौँ नेपालीको पनि भाग्यको फैसला भएको छ ।

पति वियोगको कठिन घडीमा पनि उपनिर्वाचनमा होमिदाको पीडा अहिले धेरै हदसम्म मत्थर बनेको छ, सभासद् खड्काको । पतिको बाँकी कार्यभार सम्हाल्न संविधानसभा पुग्नुभएकी सभासद् खड्का संविधानसभाबाट संविधान जारी भएपछि उत्साहित हुनुहुन्छ ।

उहाँका अनुसार संविधान लेखनकै यात्रामा निधन हुनुभएका पति सभासद् हरिबहादुर खड्काको मृत आत्मालाई पनि शान्ति मिलेको छ ।
उहाँले आत्मगौरवको अनुभूति गरिरहनुभएको छ । ‘गौरवको महसुस पनि भएको छ, यस्तो ऐतिहासिक दायित्व निर्वाह गर्ने अवसर मिल्यो, पति गुमाएपनि संविधान लेख्न पाएँ” सभासद् खड्काले भन्नुभयो “मेरो पतिको जुन इच्छा थियो, संविधानसभाबाट जनतालाई नयाँ संविधान दिने, त्यो सपना पनि पूरा भएको छ ।” नेपाली काँग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं १ की सभासद् खड्काका पति हरिबहादुर खड्काको २०७१ मङ्सिरमा सडक दुर्घटनामा मुत्यु भएको थियो ।

सभासद् पतिको निधन भएपछि खड्का सोही वर्षको चैतमा भएको उपनिर्वाचनमा विजयी बनी संविधानसभामा पुग्नुभएको थियो । “मेरो पतिको निधनपछि जुन अभिभारा मलाई जनताले बोकाउनुभएको थियो, त्यो आज पूरा भएको छ” सभासद् खड्काले भन्नुभयो “संविधान दिने वाचा त पूरा भयो, अब विकास निर्माणको कामलाई अघि बढाउनुछ ।” उहाँले पति निर्वाचित हुँदा जनतालाई बाँडेका आश्वासन र सपना पूरा गर्न कटिबद्ध भएर लाग्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया