महिला हिंसाविरुद्ध कला

इनेप्लिज २०७२ असोज ३ गते ३:५३ मा प्रकाशित

काठमाडौँ, ३ असोज । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न सिर्जना गरेको कलालाई वृत्तचित्रमार्फत देखाइएको छ ।

वृत्तचित्रमा कलाकार अस्मिना रञ्जितले आफूले लगाएको वस्त्रमा सियो तथा पिनको प्रयोग गर्नुभएको छ । हेर्दा अपत्यारिलो लाग्ने सो दृश्य कलाकारले २४ घन्टाको समयमा पूरा गर्नुभएको हो । आफ्नो शरीरलाई आफँै प्रयोग गरी सिर्जना गरेको कलामा समाजलाई नयाँ किसिमको सन्देश दिन खोजिएको छ । समाजमा महिलामाथि विभिन्न कारण र रुपमा हुने हिंसालाई सियो तथा पिनले घोचेर प्रतीकात्मक रुपमा प्रतिविम्बन गरिएको सो दृश्यले महिला पीडामा पनि सहनशील भएको देखाइएको छ ।

त्यस्तै कलाकार सुजन चित्रकारले पनि त्यस्तै रुपमा आफूलाई नै विम्ब बनाएर निर्माण गरेको सिर्जनामा मुलुकको राजनीतिक अवस्थामा जनताको भावना कदर नभएको चित्रण गरिएको छ । सिद्धार्थ आर्ट फाउन्डेसनले शनिबार आयोजना गरेको ‘कला समीक्षा तथा कला लेखन’ मा सहभागीलाई ती वृत्तचित्र प्रस्तुत गरी त्यसका विषयमा व्याख्या गरिएको थियो । ती दुवै वृत्तचित्रका समय अवधि पाँच पाँच मिनेटको छ ।

कार्यक्रममा आर्ट फाउन्डेसनका निर्देशक सङ्गीता थापाले कलाकारले समाजका व्यथा समस्यालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । कलाकार निश्चल ओलीले आफ्ना अवधारणा र अनुभवलाई प्राथमिकतामा राखेर भाव अभिव्यक्त गर्न कलाकारलाई आग्रह गर्नुभयो ।

ललितकला पत्रकार समाजका अध्यक्ष केशव खनालले समाजलाई आर्थिक तथा सामाजिक रुपमा अगाडि बढाउन कला सशक्त माध्यम भएकाले कलाकारले त्यसतर्फ केन्द्रित भई सिर्जना गर्नुपर्ने बताउनुभयो । समाजका महासचिव देवेन्द्र थुम्केलीले नेपाली मौलिक कलालाई संरक्षण गरी नवीनतम कलाको अध्ययन र अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया