नागरिक सचेतना केन्द्र प्रभावकारी

इनेप्लिज २०७२ असोज २ गते ४:०२ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २ असोज । म्याग्दीको विकट र पिछडिएका बस्तीमा स्थापना भएका नागरिक सचेतना केन्द्र प्रभावकारी बनेका छन् ।

विकास निर्माण, सामाजिक काम, सरकारी सेवामा पहुँच बढाउन र गरिबी न्यूनीकरणका लागि नागरिक सचेतना केन्द्र प्रभावकारी बनेका हुन् । स्थानीय निकाय जनप्रतिनिधि विहीन बनेको अवस्थामा समुदाय र विकास साझेदारबीच नागरिक सचेतना केन्द्र र वडा नागरिक मञ्चले पुलको काम गरिरहेका छन् ।

जिविसअन्तर्गत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी)मार्फत म्याग्दीका ४१ वटा पिछडिएको बस्तीमा नागरिक सचेतना केन्द्र र प्रत्येक वडामा वडा नागरिक मञ्च गठन भएका छन् ।

प्रत्येक गाविस र नगरपालिकाको पिछडिएको तथा विपन्न समुदायको बस्तीमा क्रियाशील नागरिक सचेतना केन्द्रले समुदायको क्षमता तथा नेतृत्व विकास, पूर्वाधार योजना भित्र्याउन पहल गर्ने, सामाजिक समस्या पहिचान गरी छलफलमार्फत समाधान गर्ने गरेका छन् ।
प्रत्येक हप्ताको एक दिन बैठक बस्ने नागरिक सचेतना केन्द्रको छलफलमा आफ्नो कुरा अरुलाई स्पष्टसँग व्यक्त गर्नसक्ने र सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधा प्राप्त गर्ने प्रक्रियाको विशेषमा जानकारी पाएको भित्रिवन नागरिक सचेतना केन्द्र बरङ्जा– ८ का सदस्य डिल्लीप्रसाद सुवेदीले बताउनुभयो ।

केन्द्रमा स्थानीयवासीको समस्या तथा कुनै विवाद आइपरेमा छलफल गरी समाधानको प्रयाससमेत हुने गरिएको छ । जिविस, गाविस, विषयगत सरकारी कार्यालय तथा गैरसरकारी संस्थाले पनि नागरिक सचेतना केन्द्रले माग गरेका योजनालाई प्राथमिकता दिन थालेपछि विकास गतिविधि बढेको छ ।

यसैगरी केन्द्रले घुम्ती कोष परिचालन गरेर विपन्नको आयआर्जनमा पनि जोड दिएका छन् । कुखुरापालन, बाख्रापालन, तरकारीखेतीलगायत आयआर्जनमूलक क्रियाकलाप गर्न एक जनालाई रु २० हजारसम्म कोषबाट नगद सहयोग हुने गरेको बरङ्जा–८ का चन्द्रबहादुर विकले बताउनुभयो ।

म्याग्दीका ४१ वटा नागरिक सचेतना केन्द्रलाई एलजिसिडिपी कार्यक्रमले एकएक लाख बीउ पँुजी उपलब्ध गराएको जानकारी जिविसका शासन विज्ञ सन्तोष पन्थीले दिनुभयो ।

प्रतिक्रिया