एचआइभी सङ्क्रमितलाई ‘आइपिटी’ सेवा

इनेप्लिज २०७२ असोज १ गते ४:३३ मा प्रकाशित

hiv-aidsबागलुङ, १ असोज । एचआइभी सङ्क्रमित व्यक्तिलाई क्षयरोग लाग्नबाट जोगाउन बागलुङमा नयाँ औषधोपचार कार्यक्रम सुरु भएको छ ।

धवलागिरी अञ्चल अस्पताल बागलुङले बिहीबारदेखि आइसोनियजाइड रोकथाम थेरापी (आइपिटी) सेवा शुभारम्भ गरेको हो । अस्पतालमा रहेको ‘एआरटी’ केन्द्रबाट जिल्लामा रहेका एचआइभी सङ्क्रमितलाई सो औषधि वितरण हुनेछ ।

एचआइभी सङ्क्रमितलाई क्षयरोग नलागोस् भनेर यो औषधि दिन सुरु गरिएको केन्द्रका इञ्चार्ज ऋषिराम शर्माले बताउनुभयो । अनुसन्धानले उक्त औषधि सेवनपछि सङ्क्रमित व्यक्तिमा क्षयरोग लाग्ने सम्भावना ७५ देखि ९० प्रतिशतसम्म कम हुने देखाएको उहाँले जानकारी दिनुभयो ।

“एचआइभी सङ्क्रमित व्यक्तिमा क्षयरोग लाग्ने सम्भावना एकदमै बढी हुन्छ, सङ्क्रमित व्यक्तिलाई भविष्यमा क्षयरोग नलागोस् भनेर यो औषधि सेवा सुरु गरिएको हो”–इन्चार्ज शर्माले भन्नुभयो । ‘आइपिटी’ औषधि सङ्क्रमित भएका सबै व्यक्तिले दिनको एक चक्कीका दरले छ महिनासम्म नियमित सेवन गर्नुपर्ने उहाँको भनाइ छ ।

अस्पतालमा रहेको ‘एआरटी’ केन्द्रमा औषधि निःशुल्क रुपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ । सङ्क्रमित भएर पनि कुनै पनि उपचारमा नआई सामान्य तरिकाले जीवनयापन गरेका व्यक्तिले समेत ‘आइपिटी’ औषधि खानुपर्ने अस्पतालले जनाएको छ । अस्पतालले सबै सङ्क्रमित व्यक्तिलाई छ महिनासम्म सो औषधि सेवन गरी क्षयरोग लाग्नबाट बच्न आह्वानसमेत गरेको छ ।

सरकारले यसअघि देशका विभिन्न स्थानमा रहेका पाँचवटा एचआइभीको उपचार केन्द्रमा नमुनाका रुपमा चलाएको कार्यक्रम सफल बनेपछि देशभर विस्तार गरेको हो । सामान्य व्यक्तिलाई भन्दा एचआइभी सङ्क्रमितलाई क्षयरोग लाग्ने सम्भावना २० गुणाले बढी हुने स्वास्थ्यकर्मी बताउँछन् । सङ्क्रमित व्यक्तिमा रोगसँग लड्ने क्षमता कमजोर हुने हुँदा सबैभन्दा बढी क्षयरोगलाई पहिले आक्रमण गर्ने गरेको छ ।

‘आइपिटी’ औषधि छ महिनासम्म नियमित सेवन गरे जीवनभर सेवन गर्नु नपर्ने इञ्चार्ज शर्माले बताउनुभयो । क्षयरोग लागिसकेका मिर्गौला तथा कलेजोका रोगी, अत्यधिक मदिरा सेवन गर्ने र कमलपित्त भएका व्यक्तिले सो औषधि सेवन गर्न नहुने जनाइएको छ । धवलागिरि अञ्चलमा बागलुङ र म्याग्दीमा ‘एआरटी’ केन्द्र सञ्चालनमा छन् ।

केन्द्रले एचआइभी रोकथाम, हेरचाह तथा उपचार सेवा प्रदान गर्दै आएको छ । धवलागिरि अञ्चल अस्पतालमा रहेको ‘एआरटी’ केन्द्रमा दुई सय ९२ सङ्क्रमित व्यक्ति दर्ता भएका छन् । तीमध्ये कतिपय बाहिरी जिल्लाबाट समेत आएर उपचार सेवा लिइरहेका छन् ।

प्रतिक्रिया