महिलाले पहिरो हटाएपछि अवरुद्ध यातायात सञ्चालनमा

इनेप्लिज २०७२ असोज १ गते १:३७ मा प्रकाशित

परासी, १ असोज । नवलपरासीको पहाडी क्षेत्रमा महिलाले पहिरो हटाएपछि अवरुद्ध यातायात सहज रुपमा सञ्चालनमा आएका छन् ।

हालैको बर्सातको समयमा ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको पहाडी  क्षेत्रको सडक स्थानीय महिला एकजुट भई पहिरो हटाएपछि सहज रुपमा यातायात सञ्चालनमा आएका हुन् । सडकको नियमित मर्मतसम्हारका लागि जिल्ला विकास समितिको एसएनआरटिपीको सडक मर्मत कार्यक्रमसँग भएको सम्झौताअनुसार अधिकांश महिलाको टोलीले उक्त कार्य गर्दै आएका छन् ।

वैदेशिक रोजगारीको कारण गाउँमा युवा पुरुषको अभावले गर्दासमेत महिला आफैँ काममा कसिनुपर्ने बाध्यता रहिआएको छ । पहिरो हटाएपछि पहाडी, अर्खला, धौबादी, जौबारी, भारतीपुर, डेढगाउँ, नरम, मिथुकरमलगायत क्षेत्रका यातायात सञ्चालन भएका छन् ।

गत वर्षको बर्सातको समयभरि करिब चार महिना सो भेगमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा खच्चड तथा मानिसबाट औषधि र खाद्यान्न ढुवानी गर्नुुपर्ने बाध्यता थियो ।  वर्षाकै कारण अझै पनि पहाडी क्षेत्रको बुलिङटार, डाँडाझेरी, अर्खला र कोटथर क्षेत्र भने पूर्ण रुपमा यातायात सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया