कृषक व्यावसायिक रुपमा कफीखेतीतर्फ

इनेप्लिज २०७२ भदौ ३० गते १०:५६ मा प्रकाशित

coffee-khetiपाँचथर, ३० भदौ । सरकारले अनुदान उपलब्ध गराएपछि जिल्लाका अधिकांश गाविसका कृषकले परीक्षणका लागि अहिले व्यावसायिक रुपमै कफीको विरुवा रोपण गरेका छन् ।

जिल्लाको आङसराङ, रानीगाउँ, स्याब्रुम्बा, थर्पु, यासोक, फाक्तेप, चिलिङदेन, पौवासारताप, नवमीडाँडा, फिदिम, रानीटार, नाँगिन, लुङरुपा, ओयोम, च्याङथापु, फलैँचालगायतका कृषकले व्यावसायिकरुपमै कफीको विरुवा रोपण गरेका हुन् ।

सरकारले सहकारीमार्फत प्रति गोटा ७ रुपैयाँ ५० पैसा अनुदान उपलब्ध गराएपछि अहिले कृषकले व्यावसायिकरुपमै कफीको विरुवा रोपेको फाक्तेप युमामाङ सहकारीका बलीराज चेम्जोङले बताउनुभयो । प्रति गोटा रु १५ देखि रु २५ का दरले रानीगाउँ–३ मा रहेको उत्तम कफी तथा फलफूल उत्पादन केन्द्रबाट कृषकलाई कफीको विरुवा वितरण गरिएको हो ।

यस्तै माङजाबुङमा रहेको मार्गदेवी अर्गानिक कफी उत्पादक सहकारी संस्थाका अध्यक्ष बम लावतीले पनि १५ हजार विरुवा लगेर कृषकलाई वितरण गरिएको वताउनुभयो । उत्तम कफी तथा फलफूल उत्पादन केन्द्रका प्रबन्ध निर्देशक पूण्यप्रसाद चौलागाईले राष्ट्रिय चिया तथा कफी विकाश बोर्डले दिएको अनुदान बापतको ४५ हजार विरुवा कफी कृषकलाई अनुदान बापत वितरण गरेको वताउनुभयो ।

यहाँ उत्पादन भएको कफी अमेरिका, जर्मन, बेलायत र कोरियालगायतका देशमा निर्यात हुने गर्दछ ।

प्रतिक्रिया