पहिरो जाँदा यातायात सेवा अवरुद्ध

इनेप्लिज २०७२ भदौ ३० गते १०:४६ मा प्रकाशित

परासी , ३० भदौ । नवलपरासीको एक मात्र पहाडी १७ गाविस जाने दलदले–बुलिङटार सडकखण्डको ढुम्रेमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरोका कारण सवारीसाधन बुलिङटार नपुग्दा उपभोग्य वस्तुको मूल्य आकासिएको छ । तीज, दसैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिँदै जाँदा पनि जिल्ला विकास समितिले सडकमा गएको पहिरो पन्छाएर सवारी साधन सुचारु गर्न चासो नदिएको भन्दै गाउँलेले आक्रोश पोखेका छन् ।

लेकवेंशी यातायात व्यवसायी समितिमार्फत यो सडकमा दैनिक ४० वटा सावजनिक सवारी साधन चल्दै आएका थिए । झण्डै तीन सय मिटर सडक पहिरोका कारण क्षति पुगेको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा बुलिङटार, डाँडाझेरीलगायतका गाविस प्रत्यक्षरुपमा प्रभावित भएका छन् भने ढुम्रे, तल्लो अर्खला, सिँचाङ, कमलीकोट, कोखेटार क्षेत्रमा खाद्यन्न ढुवानीमा समस्या भएको छ ।

वर्षायाममा सधैँ पहिरो जाने गर्दा पनि जिल्ला विकास समितिले पहिरो पन्छाउन तत्परता नलिई महिनौँ लगाउने गरेको स्थानीयवासीको गुनासो रहेको छ ।

प्रतिक्रिया