मधेसमा त्यती खेर जे पनि हुन सक्छ

इनेप्लिज २०७२ भदौ ३० गते १०:२५ मा प्रकाशित

saradमधेस यतिखेर आन्दोलित छ । मधेसी दलहरु पनि विभिन्न चिरामा विभाजित छन । भिन्दा भिन्दै आन्दोलन गरिरहेका छन । संविधानसभाबाट असोज ३ गते संविधान आउने भईसकेपछि आफ्नो अपनत्व नसमेटेकोभन्दै त्यसलाई नमान्ने घोषणा मधेसबादी दलले गरिसकेका छन । यसै सेरोफेरोमा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी

देशले संविधान पाउने भयो नि ?
देशले एक थान संविधान पाउने भयो ।

तपाई त खुसी हुनु हुन्छ होला नि ?
सबै खुसी भएत म पनि खुसी हुने थिए । एक थान संविधानले सबैलाई खुसी पार्न सकेन । यो मुलुकको लागि दुर्भाग्य हो । देशलाई संविधान चाहिने भन्दा पनि उत्पीडनमा परेका, बहिस्करणमा परेका समूदाय, क्षेत्र, बर्ग लिङ्गलाई संविधान चाहिएको छ । उनको लागि संविधान आउँदै छैन । देशमा संविधान थिदै थियो नि । काग्रेस र एमालेको निम्ति त संविधान थिदै थियो नि ।

सात दशकदेखिको नेपाली जनताको सपना पुरा हुँदै छ नि ?
सात दशकदेखि नेपाली जनताले आफूले बनाउने संविधानको सपना पुरा हुनु पर्नेमा त्यो सपनामाथि कसरी तुषारापात भयो भने तीन जना नेताले खल्तिबाट निकालेर दिएको एकथान संविधानलाई नेपाली जनताले आफ्नो संविधान मान्न सक्दैनन । जसरी हिजो संविधानसभाको ढाडमा टेकेर राजा महेन्द्रले २०१९ सालको संविधान नेतालाई थुनेर दिए । आज तीन नेताले सम्पूर्ण जनतालाई थुनेर संविधान दिदैछन ।

९१ प्रतिसत जनप्रतिनिधिको हस्तक्षरसहित संविधान जारी हुँदैछ नि ?
९१ प्रतिसत जनताको सहमतिमा संविधान बन्दैछ भने ५२ प्रतिसत जनता जो अहिले मधेस र थरुहटमा बसेका छन त्यो किन जलिरहेको छ, उनीहरु कस्को जनता हुन ?

काग्रेस,एमाले र माओवादीमा पनि मधेसी प्रतिनिधिहरु छन नि ?
त्यो दलका नेताहरु किन मधेस गएर आफ्ना जनतालाई थुम्थुम्याउन सकिरहेका छैनन त ? काग्रेस, एमाले र माओवादीलाई मधेसका जनताले जसरी विश्वास गरेर मत हालेका छन आज त्यही मतको आधारमा मधेसकै जनतालाई गोली हान्ने काम भएको छ ।

ठूला दलका सबै शिर्ष नेताहरु मधेसबाटै प्रतिनिधित्व गर्छन ?
आज विमलेन्द्र निधीले गएर धनुषामा गएर सम्झाउनु पर्यो, प्रचण्डले सिराहामा गएर आफ्ना जनतालाई सम्झाउनु पर्यो । भोट त्यहाँबाट लिने अनि त्यहाँका जनतालाई गोली हान्ने यो कस्तो खाल्को प्रजातन्त्र र लोकतन्त्रको कुरा गरेको ।

अब मुलुक संघीयतामा गईसक्यो, तपाईहरुको माग त पुरा भयो नि ?
निश्चित पनि हामी संघीयताको पक्षमा छौ । तर हामी संघीयताको पक्षधर भनेको जुन पहिचान र सामथ्र्यको आधार बनाएको थियो त्यसको आधारमा बनाईने संघीयताको पक्षमा छौ । विना पहिचानको जुन संघीयता बनेको छ त्यसको विपक्षमा छौ । विना सामथ्र्यको जुन संघीयता बनेको छ त्यसको विपक्षमा छौ । अहिले पर्सा गौर लगायतका जिल्लामा आन्दोलनकारीहरुको धरपकड भईरहेको छ । यसरी धरपकड गरेर दवाएर जसरी संविधान जारी हुँदैछ यसले राष्ट्रिय अन्तर्राष्ट्रि रुपमा के सन्देश दिईरहेको छ यो कुरा बुझ्नु पर्यो ।

जनताहरुका खुसीयाली पनि छ ?
कर्णाली सुर्खेतका जनता सडकमा उलिए, दुई चार जना सहिद हुनु भयो । उहाँहरुले भन्ने वित्तिकै माग पुरा भयो । तर आज करिब करिब ५२ प्रतिसत जनता भएको मधेस र थरुहटका जनतालाई विश्वासमा नलिई संविधान जारी गरेर तपाईहरु यो देशलाई कता लादै हुनु हुन्छ ।

तपाईहरुले जति विरोध गरे पनि संविधान त आउने नै भयो नि ?
मैले विरोध गरेकै छैन, मलाई त चिन्ता लागिरहेको छ । हिजो सम्म त काँध थाप्न खोजेको थिए । आज भिरबाट खस्दैछ म राम राम मात्र भन्न सक्छु । संघीय लोकतान्त्रिक मोर्चाको संयोजक विजयकुमार गच्छदारजीले १६ बुँदे समझदारी देखि यहाँसम्म ल्याउनमा अपमानित भएर पनि भूमिका खेल्नु भयो । आज अन्तिम बेलासम्म पनि एक पटक बार्ता गर्नुस, संबादबाट सबैलाई समेट्नुस भनेर अन्तिम समयसम्म भन्दा पनि हामी पराजित भयौ । हामी मुद्दामा पराजित भएका हौईनौ, बार्ताको बातावरण बनाउन नसकेर पराजित भयौ । संविधान आउने भयो त्यो ठूलो कुरा भएन ।

गच्छदारलाई ल्याउन त अझै पनि पहल भईरहेको छ नि ?
हामी तयार छौ । हाम्रो एउटै मात्र भनाई के छ भने सार्थक बार्ताको बातावरण बनाउनुस । संबाद र बार्ताबाट मात्रै यो समस्याको समाधान हुन्छ । हाम्रो आग्रह पूर्वाग्रह केही छैन । हामी के चाहन्छौभने जति पनि आन्दोलनकारी पक्षहरु छन उनीहरुसँग वार्ताको लागि बातावरण बनाई दिनुस । सुर्खेतको आन्दोलन भयो बार्ता भएन काठमाडौले संबोधन गरिदिओ । अहिले तराईका मधेसी,थारु, मुस्लिमसँग जुन सहमति भएको छ त्यो यति कार्यान्वयन भयो यति यो कारण हुन सकेन भनेर भनिदिए हुन्छ ।

आठ बुँदे सम्झौता कार्यान्वयन भईसक्यो नि ?
म त्यो सहमतिको स्टेक होल्डर हुँ मलाई त्यो कार्यान्वयन भएको थाहाँ छैन । हुकुम फर्मान गरेर संविधान जारी गर्ने अनि स्टेक होल्डरसँग बस्दा पनि नबस्ने ? राजाले दिएको संविधान मनेनौ भने तपाई तीन दल कुन राजा हो हामीले मान्नै पर्ने । वर्षौको द्धन्दलाई बार्ताबाट यहाँ सम्म ल्याई पुर्याईएको छ भने मधेसको शान्ति पूर्ण आन्दोलनलाई किन नसक्ने । यहाँ त सिक्वले सिनेमा जस्तो संविधानसभा एक , दुई, जनआन्दोलन एक , दुई, मधेस आन्दोलन एक दुई कहिले सम्म चलाउने ।

प्रतिक्रिया