जोमसोमलाई पूर्णखोपयुक्त गाविस घोषणा

इनेप्लिज २०७२ भदौ ३० गते ३:४७ मा प्रकाशित

khop-nepal-aawajमुस्ताङ, ३० भदौ । जिल्ला सदरमुकामसमेत पर्ने मुस्ताङको जोमसोम गाविसलाई मङ्गलबार पूर्णखोपयुक्त गाविस घोषणा गरिएको छ ।

एक वर्षमुनिका १९ र १२ देखि २४ महिनाभित्रका २९ बालबालिकाले नियमित खोप लिइरहेको र जन्मने बालबालिकालाई पनि उपलब्ध गराउने प्रतिबद्धतापछि एक समारोहबीच पूर्णखोप सुनिश्चितता भएको गाविस घोषणा गरिएको हो । घोषणासभामा प्रमुख जिल्ला अधिकारी नरहरि बरालले पूर्णखोपको निरन्तरताका लागि स्थानीय समुदाय नै सजग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सदरमुकामस्थित सङ्घसंस्था, युवा क्लब र आमा समूहले विभिन्न किसिमका नारा लेखिएका प्लेकार्डसहित बजार परिक्रमा गरेका थिए । सदरमुकाम जोमसोमसहित अहिलेसम्म टुकुचे, मार्फा र कुञ्जो गाविस पूर्णखोपयुक्त गाविसका घोषणा भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हरेक गाविसका स्थानीय स्वास्थ्य स्वयम्सेविका र सामाजिक परिचालकको सहयोगमा तथ्याङ्क सङ्कलनदेखि घोषणासम्मको काम भइरहेको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर बद्री आचार्यले सदरमुकाम रहेको गाविस घोषणा गरिएपछि अन्य गाविसमा अभियान सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

उहाँका अनुसार कागबेनी, छुसाङ, लोमान्थाङलगायत गाविसलाई पूर्णखोपयुक्त गाविस घोषणाको तयारी गरिएको छ । २३ महिना उमेर समूहभित्रका बालबालिकाले विसिजी, डिपिटी, पोलियो, दादुरा–रुवेला लगायतका १० प्रकारका रोगविरुद्ध विभिन्न चरणमा खोपको मात्रा पूरा गर्नुपर्ने प्रावधान छ । “असोज महिनाभित्र जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणाको तयारी गरेका छौँ, अब अन्य गाविसमा द्रुत गतिमा काम भइरहेका छन्”–उहाँले भन्नुभयो ।

प्रतिक्रिया