विषादीको खपत क्रमशः कम हुँदै

इनेप्लिज २०७२ भदौ ३० गते २:४१ मा प्रकाशित

1428371730_photo of Bisadiभद्रपुर, ३० भदौ । झापा जिल्लामा विगतको तुलनामा बर्सेनि विषादीको खपत कम हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

झापामा ९० हजार हेक्टर जग्गामा धानखेती हुने गरेको छ भने धेरै भूभागमा चिया र तरकारी खेती हुने गर्दछ । बालीनालीमा रोग र कीराबाट जोगाउन प्रयोग गरिने विषादी मानिसको स्वास्थ्यमा गम्भीर खसर पर्ने गरेको चेतनाकै कारण विषादीको प्रयोग घटेको कार्यालयले जनाएको छ ।

विषादीको कम प्रयोग गर्न आइपिएम तालिम र बनेका कृषकको समूहले विषादीलाई न्यूनीकरण गर्नेतर्फ देखाएको सक्रियताले नै विषादी कम प्रयोग भएको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले बताउनुभयो ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७१÷७२ मा झोल विषादी १८ हजार ९७ लिटर, पाउडर १२ हजार ८५ केजी, जैविक झोल पाँच हजार दुई लिटर, जैविक धुलो छ हजार दुई केजी र अन्य पाँच हजार केजी विषादी प्रयोग गरिएका छन् ।
आर्थिक वर्ष २०७०÷७१ मा झोल विषादी २० हजार ९८ लिटर, पाउडर १४ हजार चार सय १३ केजी, जैविक झोल चार हजार ८६ लिटर, जैविक झोल पाँच हजार ५६ केजी र अन्य चार हजार पाँच केजी विषादी किसानले खेतबारीमा प्रयोग गरेको देखिन्छ ।

झापामा हाल विषादीको कारोबार गर्ने दुई सय ९७ वटा पसल छन् ।

प्रतिक्रिया