शब्द चिन्तनबाट तीजको शुभकामना व्यक्त

इनेप्लिज २०७२ भदौ २९ गते २०:१६ मा प्रकाशित

 

 

नेपालीहरूको पर्व तीजको उपलक्ष्यमा शब्द चिन्तन संरक्षण मण्डलले देश विदेशमा रहेका चेलीबेटीहरूलाई शुभकामना व्यक्त गरेको छ ।

मण्डलका संरक्षक सदस्य दीपक सुवेदीले जारी गर्नु भएको तीजको शुभकामना सन्देशमा यस वर्ष नेपाल विनाशकारी महाभूकम्पको कारण धेरै नागरिकको वियोगले छट्पटाइरहेको र धेरै नागरिकका घरमा हर्ष उल्लास आउन नसकेको अवस्था रहेको विषयलाई दर्शाउँदै सधैं शोक गरेर पनि साध्य नचल्ने उल्लेख छ । भूकम्पमा परी दिवंगत हुनुभएकाहरूको आत्माको चीरशान्तिको कामाना गर्दै ‘सबैको घरआगनीमा चेलीहरूको उपस्थितिले हर्ष उत्साह उमङ्ग लिएर आएको चेली सम्मानको पर्व तीज २०७२ को शुभ उपलक्ष्यमा शब्द चिन्तन संरक्षण मण्डल देश–विदेशमा रहनुभएका सबै चेली तथा मातृशक्ति दिदी बहिनीमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य–दीर्घायु, सुख, समृद्धि, उन्नयन एवम् आत्मोन्नतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ’ भनिएको सुवेदीले सन्देशमा विभिन्न पर्वादिको व्यवस्थाले सनातन धर्म संस्कृति मानव सभ्यताको श्रेष्ठ संस्कृतिको रूपमा व्यवाहारित हुँदै आएको तर विभिन्न कालखण्डहरूमा यस्ता संस्कृतिमा विकृतिले हाँगा हाल्दा संस्कृतिको वास्तविक स्वरूप ढाकिन लागिसकेको यथार्थलाई सबैले गम्भीरताको साथमा मनन् गर्न आवश्यक भएको उल्लेख गर्नुभएको छ । ज्ञानविज्ञानका खुराकहरूले सिङ्गारिएको सनातन संस्कृतिभित्र विभिन्न बहानामा धेरै विकृति मौलाउँदै आएको, जसले संस्कृतिको वास्तविकतालाई नै ओझेलमा पारेको र त्यस्ता विकृतिहरूले सनातन धर्मविरुद्ध प्रत्यक्ष–अप्रत्यक्ष बल थपेको सन्देशमा उल्लेख छ ।

सो शुभकामना सन्देशमा ऐजेरुको रूपमा पलाउँदै आएका विकृतिबाट समयमै सावधानि हुन सकिएन भने आउने पीढीलाई वास्तविक संस्कृति हस्तान्तरण गर्न गार्हो पर्नेतर्फ सम्बद्ध क्षेत्र समयमै गम्भीर हुन जरुरी भएको बताइएको छ । तीजपर्वमा पनि केही विकृतिहरू मौलाएको, यसलाई वैकृतिक रूपमा नभएर समयसान्दर्भिक तरिकाबाट सांस्कृतिक रूपान्तरण ल्याउन जरुरी भएको र कथागत दृष्टान्तबाट माथि उठेर यस पर्वभित्र रहेको तात्त्विक महत्त्वलाई बोध गरी व्यवहारिक तथा सामाजिक तरिकाबाट अनुसरण एवम् अनुकरण गर्न जरुरी रहेको धारणा व्यक्त गरिएको छ । सन्देशको अन्तिममा तीजलाई नेपाल हुँदै विश्वको चेली तथा मातृशक्ति सम्मानको सांस्कृतिक पर्व बनाउनसक्नु पर्छ भनिएको छ ।

प्रतिक्रिया