तल्लो मोदीखोलाको निर्माणकार्य ४० प्रतिशत सम्पन्न

इनेप्लिज २०७२ भदौ २८ गते ४:३४ मा प्रकाशित

P1460040फलेवास (पर्वत), २८ भदौ । पर्वत जिल्लामा निजी क्षेत्रले निर्माण गरिरहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ४० प्रतिशत पूरा भएको छ ।

मनाङ टेड लिङ्कले निर्माण गरिरहेको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको २०६९ साउनदेखि निर्माण कार्य सुरु भएको थियो ।
आयोजनाको सुरुङ निर्माण कार्य ५७ प्रतिशतभन्दा बढी सकिएको छ । चार किलोमिटर लामो मुख्य सुरुङ मार्गको ५७ प्रतिशतभन्दा बढी काम सकिएको छ । मुख्य सुरुङको चार हजार २४ मिटरमध्ये अहिलेसम्म दुई हजार ३१० मिटर खनिसकिएको छ ।

कमजोर भूभाग भएकाले फेज २ र ३ मा भने सोचेअनुसार काम हुन सकेको छैन । उक्त स्थानमा ठूलो मात्रामा कमेरे माटोको सतह भएकाले सुरुङ निर्माण कार्य ढिलो र खर्चिलो भएको आयोजनाले जनाएको छ ।

आयोजनाले सुरुङ र सिभिल निर्माणका लागि गएको फागुनदेखि ठेकेदारलाई जिम्मा दिएका कारण कामले गति लिएको छ । “अहिलेसम्म आयोजनाको ४० प्रतिशत काम सकिएको छ” आयोजना प्रमुख पवनकुमार यादवले भन्नुभयोे “दसैँपछि अझै निर्माण कार्यलाई तीव्र बनाउँदै एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।”

पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा निर्माण भइरहेको आयोजनाको निर्माण कार्य २०७३ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
करिब रु तीन अर्ब ५१ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो भने २०६९ साउनदेखि निर्माण कार्य थालेको थियो ।

आयोजनामा ७५ प्रतिशत कर्जा र बाँकी २५ प्रतिशत स्वपुँजी लगानी हुने बताइएको छ । यो विद्युत् आयोजनामा नेपाल सनराइज, ग्रान्ड, सिद्धार्थ, नेपाल क्रेडिट एन्ड कमर्स, कमर्ज एन्ड ट्रस्ट, मेगा र ग्लोबल आइएमइ बैंकले लगानी गर्नेछन् ।

प्रतिक्रिया