बालबालिकाले बालअधिकार, संविधान र शान्ति मागे

इनेप्लिज २०७२ भदौ २८ गते ४:२९ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २८ भदौ । म्याग्दीका बालबालिकाले गीतमार्फत बालअधिकार सुनिश्चित भएको नयाँ संविधान र शान्तिको माग गरेका छन् ।

राष्ट्रिय बाल दिवस २०७२ को अवसरमा आइतबार बेनीमा आयोजित अन्तर माविस्तरीय बालगीत प्रतियोगितामा सहभागी बालबालिकाले लडाइँ र झगडाले देश नबन्ने भन्दै सबै मिलेर बालअधिकार मैत्री संविधान निर्माण गरी देशमा शान्ति कायम गर्न आग्रह गरेका हुन् ।

जिल्ला बाल कल्याण समितिले जिल्ला शिक्षा कार्यालयको संयोजन र असल छिमेकी नेपालद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको सहयोगमा आयोजना गरेको प्रतियोगितामा सात वटा विद्यालयले सहभागिता जनाएका थिए ।

‘हिमाल, पहाड, मधेस, तराई हाम्रो देशको प्राण हो । सबै जातको फूलबारी हाम्रो शान हो’ बेनी आवासीय माविका विद्यार्थीले गीतको माध्यमबाट भने ‘नयाँ नेपाल बनाउ जुटेर, देशमा शान्ति ल्याउनु छ सबै उठेर । संविधान ल्याउनु छ सबै मिलेर ।’

बालबालिकाले गीतमा देशको राजनीतिक अस्थिरता र संविधान निर्माणमा भएको ढिलाइप्रति नेतालाई खबरदारी मात्रै गरेनन् नयाँ संविधानमा आफ्ना हकअधिकारलाई समेट्न पनि माग गरे । सधैँ विद्यालय बन्द हुँदा पढ्न नपाएको गुनासोसँगै उनीहरुले बाल मजदुर र अनाथ बालबालिकाले पनि पढ्न पाउने वातावरण बनाउन माग गरेका थिए ।
प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय उच्च मावि प्रथम, लिटिल गार्डेड एकेडेमी द्धितीय र बेनी आवासीय मावि तृतिय भएका थिए । विजयीलाई मङ्गलबार राष्ट्रिय बाल दिवसको अवसरमा पुरस्कृत गरिने भएको विद्यालय निरीक्षक दलबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया