नेपालको संविधान २०७२ का धारा १, २ र ३ पारित

इनेप्लिज २०७२ भदौ २७ गते १४:४७ मा प्रकाशित

1418729638_hindi-magazine_sambidhanकाठमाडौँ, २७ भदौ । संबिधान सभाले नेपालको संविधान २०७२ को परिमार्जित विधेयकको धारा १, २ र ३ पारित गरेको छ ।

तीमध्ये धारा १ र २ मा कुनै पनि संशोधन नपरेकाले सर्वसम्मत तथा धारा ३ मा प्रमुख तीन राजनीतिक दलद्वारा संशोधन प्रस्तावलाई बैठकमा उपस्थित सभासद्को दुईतिहाईले स्वीकृत गरेपछि संविधानको अङ्ग मान्दै पारित गरिएको हो ।

यस्तै, नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) का तर्फबाट प्रमुख सचेतकहरु चीनकाजी श्रेष्ठ, अग्निप्रसाद खरेल, गिरिराजमणि पोखरेलले संयुक्तरुपमा दर्ता गराउनुभएको संशोधन प्रस्तावलाई बैठकमा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

संविधानको धारा ३ का लागि संशोधन प्रस्तुत गरेका रामकुमार राई, विश्वेन्द्र पासवान र अनुराधा थापामगरले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

अन्तरिम संविधान, २०६३ को धारा ७० मा दुई तिहाई बहुमतद्वारा नयाँ संविधानको प्रत्येक धारा, अनुसुची र प्रस्तावना, संक्षिप्त नामलाई स्वीकृत गर्ने व्यवस्था रहेको छ ।

सो धारामाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएका सभासद् चन्द्रप्रकाश मैनालीले बैठकमा निर्णयार्थ प्रस्तुत हुनु अगावै आफ्नो प्रस्ताव फिर्ता लिनुभएको थियो ।

नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, समाजवादी जनता दल, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दल, दलित जनजाति पार्टी, सङ्घीय लोकतान्त्रिक मञ्च थरुहट, राष्ट्रिय जनमुक्ति पार्टी, जनजागरण पार्टी नेपाल सम्वद्ध सभासद् र मनोनित सभासद्ले ५४ संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

एमाओवादीका तर्फबाट दर्ता गराएका सबै संशोधन प्रस्ताव फिर्ता लिइएको थियो ।

नेकपा (एमाले) का सभासद्ले दर्ता गराउनुभएको संशोधन प्रस्ताव भने यसअघि नै फिर्ता लिइसक्नुभएको थियो ।

सभासद्हरु अतहर कमाल मुसलमान, अर्जुननरसिंह केसी, शेखर कोइराला, नागेन्द्र कुमाल, जयदेव जोशीले दर्ता गराउनुभएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको छ । एकीकृत नेकपा (माओवादी)का सचेतक रेखा शर्माको नेतृत्वमा २८ जनाले दर्ता गराउनुभएको संशोधन प्रस्तावसमेत फिर्ता लिनुभएको छ ।

संविधानसभाको अर्को बैठक यही भदौ २८ गते सोमबार बिहान ११ः०० बजे बस्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया