अमेरिकन दैनिकिका बुझ्नैपर्ने यी पिडाहरु———————————- —– ब्याजै ब्याज, बील र थकानले चेपिएको अमेरिकी जीवन

इनेप्लिज २०७२ भदौ २६ गते १:२६ मा प्रकाशित

11998879_10153318462218999_6721958040691757189_n‘अचानोको पीर खुकुरीले जान्दैन’ भनेजस्तै सोचेजस्तो र भनेजस्तो कहाँ छ र, अमेरिकी जीवनशैली । अमेरिकीजीवन जति बुझ्यो, उत्ति गाह्रो । सपना, चाहना, ईच्छा, आकांक्षासँगै पाइलैपिच्छे थुप्रै खुड्किलाहरू छन् । तीखुड्किला त्यति सहज छैनन् र असहज पनि छैनन् । अमेरिकाको जीवन र जीवनशैली ब्याजै ब्याज र बीलभुक्तानीमै बित्ने गर्छ । ब्याजै ब्याज र बील भुक्तानीको खुड्किलाबीच लामो नदीजस्तै जीवन र जीवनशैलीबगिरहेको छ । बील र ब्याजको संयोजन बडो अचम्मको छ । अमेरिकामा आइतबार एक दिनबाहेक सोमबारदेखि शनिबारसम्म आफ्नो मेलबक्समा आइरहने बील, जीवनशैलीका आवश्यकता, चाहना र परिवेशलाई सहजीकरणका लागि अत्यावश्यक र सौखिन वस्तुहरूको उपभोग गर्दा लिइएका क्रेडिट कार्ड, गाडी, घर, सामानहरू, बीमा, जग्गा, सम्पति, ब्यवसायआदिको सेवा सुविधा प्रयोग तथा उपभोग गरेवापत आफ्नो नाममा नामाकरण भएपछि वा लेनदेन गर्दा लिइएका सापटी र ऋणवापतको ब्याज तिर्दातिर्दै अमेरिकामा जीवनको इहलिला समाप्त हुने गर्दछ ।

‘श्रम गर, कर तिर, सुविधा लेऊ र कानुनको पालना गर’ यो नै अमेरिकामा बुझ्नुपर्ने मुख्य चुरो न्यूनतम आधार हो । मुख्यतः अमेरिकामा बस्नका लागि घरभाडा वा घर किनेपछि बैंक वा वित्तीय संस्थालाई बुझाउनुपर्ने मासिक मोर्गेज, तिर्नुपर्ने विविध कर, बीमा, खाना, यातायात, बच्चाको हेरचाह तथा सौखिन वस्तुहरूको उपयोगआदि नै मुख्य खर्च​ हुने ठाउँ हुन् । साथसाथै मेडिकल तथा अस्पतालको बील अर्को महंगो पर्छ अमेरिकामा । टेलिफोन, बीमा, बिजुली,पानी, फोहोर ब्यवस्थापन, गाडी, घरभाडा तथा शुल्क, क्रेडिट कार्ड, बैंकको शुल्क, मासिक एवं वार्षिक कर, विभिन्न सपिङ केन्द्रहरूको सहुलियत तथा सदस्यता शुल्क, अस्पतालको खर्च, खरिद गर्दा ब्याजमा लिइएका सामानहरूको मासिक, अर्धमासिक वा साप्ताहिक शुल्कआदि नै मुख्य खर्चका बीलहरू हुन् । जुन आइतबारबाहेक हरेक दिन

मेलबक्समा आइपुग्छन् । जसमा रकम तिर्नुपर्ने अन्तिम दिन तोकिएको हुन्छ । तोकिएको दिनमा नतिरे ढिलासुस्तीवापतको जरिवाना लगाउँछ । त्यसभित्र पनि नतिरे सेवा नै बन्द गरिदिन्छ । सेवा बन्द भएपछि पनि नतिरे क्रेडिट इतिहास हुन्छ, क्रेडिट मापन तथा निगरानि गर्ने तिनवटा निकायलाई खराब रिपोर्टिङ्ग् पठाइदिन्छ र त्यसपछि पनि नतिरे कलेक्सन डिपार्टमेन्टमा पठाइदिन्छ । त्यस डिपार्टमेन्टले तिर्नका लागि मौका दिन्छ । त्यो मौका गुमाएमा वा अटेर गरेमा डिपार्टमेन्टका मानिसहरू आएर लिनुपर्ने रकमबराबरको जायजेथा लैजान्छन् । त्यसैगरी बैंकहरूले गाडी भए गाडी लगिदिने, घर भए घर लिलामीमा बेचिदिने गर्छन् । अन्य कम्पनी वा अस्पतालको बील भए कुनै किसिमले पनि उठ्न नसकेको रकम जीवनको कुनैबेला पनि यदि कुनै हिसाबले आम्दानी गरेको खण्डमा त्यसबाट असुल गरिछाड्छन् । सरकारी कर तिर्नुपर्नेछ भने पटक पटकको ताकेता अटेर गरेमा बैंकबाटै पैसा तानिदिन्छ वा बैंक खाता छैन भने कर विभागले घरमै आई जायजेथा उठाइदिन्छ । सेवा सुविधा लिएपछि तिर्नुपर्ने भुक्तानी समयमै नतिर्दा अमेरिकी जीवनमा ठूलो क्षति ब्यहोनुपर्ने हुन्छ । भविष्यमा अन्य लाभ लिन खोज्दा, ऋण लिन खोज्दा, सापटी लिन खोज्दा, गाडी वा घरआदि खरिद गर्न खोज्दा, क्रेडिट कार्ड वा सहुलियत

कार्डहरू लिन खोज्दा सबैमा निषेध हुन्छ । ती सुविधाका लागि निवेदन दिँदा नै विगतको बील भुक्तानी, ऋण वा सापटी नतिरेको, ढिला बुझाएको, बुझाउँदै नबुझाएकोजस्ता सबै फेहरिस्त सोसियल सेक्युरिटी नम्बर, ड्राइभर लाइसेन्स नम्बर, ठेगाना वा जन्ममिति टाइप गरेपछि ती कम्पनी, संस्था वा निकायले सबैकुरा कम्प्युटरको सिक्रनमै हेर्न सक्छन् । त्यसबाटै ती सुविधा प्राप्त गर्न सक्ने वा नसक्ने भन्ने थाहा हुन्छ ।

अमेरिकामा सरकारी वा अन्य कुनै पनि निकायले तपाईं के बोल्नुहुन्छ वा के भन्नुहुन्छ भन्ने कुराको मतलब राख्दैन । तपाईंसँग भएका कागजात, तपाईंको इतिहास, तपाईंको इमानदारिता र ब्यवहार कागजले बोल्दछ । र, अमेरिकी प्रणाली त्यसैमा विश्वास राख्दछ । क्रेडिट कार्डको ब्याज वार्षिक २४ देखि ३० प्रतिशतसम्म पर्न सक्छ । घरको ब्याज विगतको आर्थिक भुक्तानीको इतिहास हेरेर २५ प्रतिशतभन्दा बढीसम्म पर्न सक्छ । गाडीको पनि ब्याज त्यस्तै पर्न आउँछ । बैंक तथा फाइनान्स कम्पनीले त अधिकतम ४० प्रतिशतसम्म र समयमै तिर्न नसके ब्याजमाथि ब्याज थप्दै जाँदा मानिसको जीवनमा आर्थिक अस्तब्यस्तता सुरु हुन्छ । आम्दानी र कर, ब्याज र नियमित भुक्तानीआदि नै अमेरिकाको अत्यन्त कठीन र महंगो र जीवनशैलीलाई सफल र असफल बनाउने तत्व हुन् । त्यसैले आफ्नो घाँटी

हेरी हाड निल्नुपर्छ । कमाइअनुसार उपभोग गर्न, आफ्ना ईच्छालाई ब्यवस्थित र नियन्त्रित गर्नुपर्ने हुन्छ । कमाउनै नसकिने, तिर्नै नसकिने र आँट्नै नसकिने अवस्थालाई अस्वीकार नगरे जीवन अस्तब्यस्त हुनसक्छ । एकपटक असफल भएपछिको परिणामले मानिसको चिन्तन, सोचाइ, शक्ति र क्षमतामा क्षय हुनसक्छ । सेवा र वस्तु उपभोग गरेपछि समयमै तिर्नुपर्छ । नतिरे त्यहीँबाट खस्किने क्रम सुरु हुन्छ । सेवा र वस्तु प्रयोगका लागि अमेरिका जति सहज छ, क्षति पनि उत्तिकै डरलाग्दा छन् । मानौं, गाडी किन्दा, ऋण लिँदा, घर खरिद गर्दा अन्य वस्तुहरूको मासिक, अर्धमासिक वा साप्ताहिक इन्स्टलमेन्ट भुक्तानी गर्दा वस्तुको यथार्थ मूल्यभन्दा धेरै माथि पुर्याउँछ, ब्याज र समयमै भुक्तानी नगर्दाको जरिवानाहरूले । खरिद गर्दाकै समयमा तिर्दा भुक्तानी जति सस्तो पर्दछ, क्रमशः तिर्दै जाने र सुविधा पनि उपभोग गर्दा लाग्ने ब्याज र अन्य शुल्क बुझाउँदा भुक्तानी गर्न सहज त हुने भयो, तत्कालका लागि सुविधा प्रयोग वा उपभोग गर्न त पाइयो तर त्यसवापत ती निकाय वा संस्थाहरूले लगाउने ब्याज र शुल्कचाहिँ अत्यन्त चर्का हुन्छन् । अमेरिकामा बीलहरू आफ्ना नाममा नभएसम्म घर, गाडी, एपार्टमेन्ट, क्रेडिट कार्ड वा अन्य ऋणका सुविधाहरू नलिएसम्म तपाईंको क्रेडिट बढ्दैन । क्रेडिट नबढेसम्म ती सुविधा उपभोग गर्ने वा कम ब्याजदरमा ती सुविधाहरू उपभोग गर्न पाउने मौका गुम्दछ र अवसरको अन्त्य हुन्छ । ती संस्था वा निकायहरूले

तपाईंका कम्तीमा तीनवर्षे इतिहास हेर्दछन् । यदि तीन वर्षसम्म तपाईंले समयमै भुक्तानी गर्नुभएको छ भने त्यहिँबाट सुरु हुन्छ तपाईंको क्रेडिट इतिहास बन्ने र बृद्धि हुने क्रम । सामान्यतया ६ देखि माथिको क्रेडिट भएकाहरू क्रमशः सुविधा प्राप्त गर्नसक्ने र ७ वा ८ भन्दा बढी हुँदा ब्याजदर कम हुने र चाँडो विश्वास गर्ने हुन्छ । यदि कम क्रेडिट छ र भर्खरै सुरु गरिएको अवस्था छ भने तपाईंलाई क्रेडिट राम्रा भएका आफन्तहरूलाई जमानी राखेर ती सुविधाहरू उपभोग गर्ने अवसर प्राप्त हुन्छ । यदि तपाईंले अरू नै जमानी बसिदिएर सुविधा लिनुभयो । तर, समय समयमा ब्याज र साँवा तिर्न सक्नुभएन भने तपाईंको क्रेडिट इतिहास त ध्वस्त हुन्छ नै, तपाईंका लागि जमानी बसिदिनेको पनि क्रेडिट ध्वस्त हुन्छ । त्यसैले अमेरिकामा जमानी बसिदिने मानिस पाउनै गाह्रो हुन्छ र हरपल विश्वास गरिँदैन । आफ्नै विश्वासिला साथीभाइ र आफन्त भएमात्रै अन्यथा जो पायो उसैले जमानी बस्दैनन् ।

अमेरिकामा आम्दानी, ब्यवहार र अवस्थालाई ब्यवस्थित गर्न सके जीवनशैली केही हदसम्म सहज हुन सक्छ । कति कमाई हुन्छ, कति रकम कर तिरिन्छ, आम्दानी कति हुन्छ भन्ने कुरा सरकारलाई कर बुझाउँदा र दाखिला गर्दा पारदर्शीरूपमा देख्न सकिन्छ । कसैले नगदमा गरेको श्रम वा कारोवारबाहेक कानुनसम्मत रकम करमा दाखिला गरेपछि मात्रै आम्दानी कानुनीरूपमा सनाखत हुन्छ । अन्यथा दुई हजारभन्दा बढी नगद भेटियो र कानुनसम्मत कमाएको प्रमाण बुझाउन सकिएन भने कानुनको चौघेरामा परिनेछ र कारवाही भोग्नुपर्ने हुन्छ ।

अमेरिकामा ब्याज र बीलको भुक्तानीमै आम्दानीको मुख्य अंश चोइटिन्छ । आम्दानीको मुख्य ठूलो हिस्सा बील र ब्याज तिर्दैमा ठिक्क हुने भएकाले अमेरिकामा हरेक पाँच जनामा एक जनाले आम्दानी पनि गर्दैनन् र ब्याज र बील पनि तिर्दैनन् । हरेक १० जनामा एक जनाले कर दाखिला पनि गर्दैनन् । अमेरिकी उपभोक्ता आर्थिक संरक्षण ब्यूरोका अनुसार, प्रत्येक पाँच जना अमेरिकीमा एक जनाले मेडिकल बील तिर्न सक्तैनन् । अमेरिकामा अस्पताल औषधि खर्च अत्यन्तै महंगो छ । तैपनि बीमा भएकाले बीमाबाट त्यसको केही प्रतिशत आफूले नै र बीमा किन्न नसक्नेहरू ओवामा केयरको सुविधा प्राप्त गर्न सक्छन् । गरीवहरूका त्यस्ता शुल्क चर्च वा सामुदायिक संस्थाहरूले पनि तिरिदिन्छन् । उक्त ब्यूरोका अनुसार, हरेक अमेरिकीहरू सरदर पाँच सय ७९ डलर मेडिकल बीलको ऋणी रहेछन् । सीबीएस न्यूज एजेन्सीले अमेरिकामा घरभाडा, कर, बीमा, खाना, यातायात, हरेचाह तथा अन्य आधारभूत आवश्यकता पूर्तिका लागि बुबा, आमा र दुई वटा बच्चाको पारिवारिक वार्षिक खर्चको फेहरिस्त निकालेको छ । उक्त एजेन्सीका अनुसार, परिवारका दुई जनाले मात्रै काम गर्ने एक मध्यम परिवारको वार्षिक बील खर्च न्यूयोर्कमा ९८ हजार सात सय २२, पेन्सिलभेनियामा ७६ हजार तीन सय ९३, सिकागोमा ६१ हजार एक सय ५०, क्यालिफोर्नियामा ७६ हजार नौ सय ८५, एरिजोनामा ६७ हजार चार सय ६८ डलर लाग्ने रहेछ । जीवनलाई निरन्तरता दिन, आधारभूत आवश्यकता परिपूर्ती गर्न उल्लेखित खर्च हुने बील तिर्ने रकम कमाउनै पर्छ । बील र ब्याजबाट निस्साइरहेको अमेरिकी जीवन र जीवनशैलीको सहजता र निरन्तरता भनेको कडा परिश्रम नै हो ।

कडा परिश्रमसँगै आर्थिक ब्यवस्थापन, खर्च कटौती, सहुलियतका अवसरहरूको खोजी, डिस्काउन्ट वा डिलका वस्तुवा सुविधाहरूको खोजीनीति र उपभोग, कम ऋण लिने, कम क्रेडिट कार्ड चलाउने, आफ्नो हैसियतभन्दा बढी आकांक्षी वा महत्वाकांक्षा नराख्ने, घरायसी ब्यवसायको खर्च ब्यवस्थापनमा जोड दिने, फजुल खर्च नगर्ने, सकेसम्म ऋण वा इन्स्टलमेन्टका सामानहरू नकिन्ने वा किने पनि समयमै भुक्तानी गर्नु नै उत्तम उपाय हुन्छ । जसले जान्यो, उसले मह चाट्यो । समुन्नतिका लागि आर्थिक ब्यबस्थापन हाम्रा जिबनका सफलताका आधारस्तम्भहरु हुन।

-बरिष्ठ वातावरण पत्रकार सिलवाल अमेरिका–नेपाल

व्यवसायी संघका कार्यवाहक सभापतिका साथै

अमेरिकन चेम्बर अफ कमर्शका एकमात्र नेपाली

संस्थागत सदस्य हुनुहुन्छ ।_

प्रतिक्रिया