राष्ट्रपति यादवबाट नवनियुक्त क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान

इनेप्लिज २०७२ भदौ २४ गते १४:०४ मा प्रकाशित

Rss_Images_1441882949315_Pro_Ktm_New Army Chief (7)काठमाडौँ, २४ भदौ । राष्ट्रपति डा रामवरण यादवले प्रधान सेनापतिमा नियुक्त हुनुभएका रथी राजेन्द्र क्षत्रीलाई आज नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले नवनियुक्त प्रधानसेनापति क्षत्रीलाई महारथीको फुली (दज्र्यानी चिह्न) लगाइदिनुभएको हो ।

राष्ट्रपति यादव नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सो अवसरमा प्रधानसेनापति क्षत्रीले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिनुभयो ।

मन्त्रिपरिषद्को गत साउन २८ गतेको बैठकले उहाँलाई आजै (भदौ २४) देखि लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एवम् रक्षामन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, परराष्ट्रमन्त्री मन्त्री महेन्द्रबहादुर पाण्डे, संवैधानिक निकायका प्रमुख एवम् अरु सुरक्षा निकायका प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो ।

यसैबीच, नेपाली सेनाको ४२औँ प्रधानसेनापतिका रुपमा उहाँले सैनिक मुख्यालय जङ्गी अड्डामा आजै पदभार ग्रहण गर्नुभएको छ ।

यसअघि मुख्यालयमा उहाँको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यसअघिका प्रधानसेनापति गौरवशम्शेर राणा आजैदेखि सेवानिवृत्त हुनुभएको छ ।

नवनियुक्त प्रधानसेनापति क्षत्रीको सम्मानमा नेपाली सेनाले आजै साँझ स्वागत समारोहको कार्यक्रम राखेको छ । उहाँले गएको साउन २६ गतेदेखि कायममुकायम प्रधानसेनापति भई जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

तनहुँको चोक चिसापानी गाविसको दुधेकुनामा जन्मनुभएका क्षत्री २०३५ सालमा नेपाली सेनाको सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरी राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त हुनुभएको थियो ।

प्रतिविद्रोह तथा जङ्गल युद्धकला, जुनियर स्टाफ, गुल्मपति, गणपति तालिममा समेत उहाँले उत्कृष्ट नतिजा हासिल गर्नुभएको थियो ।

नेपालको सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति पदमा नियुक्त हुने महारथी क्षत्री पहिलो व्यक्ति हुनुहुन्छ ।

भारत, पाकिस्तान र चीनबाट फिल्ड आर्टिलरी, एयर डिफेन्स आर्टिलरी तथा पाकिस्तानको स्कुल अफ आर्मी एयर डिफेन्सबाट युनिट कमाण्डर कोर्स, भारतको डिफेन्स इन्स्टिच्यूट अफ साइकोलोजिकल रिसर्चबाट साइकोलोजिकलको अधिकृत तालिम पनि उहाँले हासिल गर्नुभएको छ ।

अमेरिकाको फोर्ट लेवनवर्थ, क्यानसस्बाट कमाण्ड र जनरल स्टाफ कलेज तथा अमेरिकी आर्मी वार कलेज कार्लाइकल पेन्सलभानियाबाट आर्मी कलेज गर्नुभएको छ । त्रिभुवन विश्व विद्यालयबाट इतिहासमा तथा अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर तहको शिक्षा उहाँले प्राप्त गर्नुभएको छ ।

सैनिक सेवामा ३६ वर्षको अनुभव सम्हाल्नुभएका प्रधानसेनापति क्षत्रीले यसअघि सुरक्षा परिषद्मा विश्लेषकका रुपमा रणनीतिक तहको स्टाफ, प्रबन्धरथी, सैनिक विनय महानिर्देशक, बलाध्यक्ष र बलाधिकृतको कुशलतापूर्वक जिम्मेवारी पूरा गर्नुभएको थियो ।

पैदलयात्रा, भ्रमण र अध्ययन उहाँका रुचि हुन् । उहाँका पिता गोपालबहादुर क्षत्रीले नेपाली सेनाको महासेनानीबाट अवकाश लिनुभएको थियो ।

प्रतिक्रिया