संयमता अपनाउन जोड

इनेप्लिज २०७२ भदौ २४ गते २:१० मा प्रकाशित

रौतहट, २४ भदौ । आन्दोलनका नाममा समाजमा हिंसा होइन संयमता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

बुधबार यहाँ आयोजित कार्यक्रममा सरोकारवालाले रौतहटमा पछिल्लो राजनीतिक अवस्था र निरन्तरको बन्दका क्रममा जिल्लाका विभिन्न स्थानमा भएका घटनापछि विभिन्न तत्वले समाजमा सामाजिक सद्भाव भाँड्न सक्ने, हिंसा फैलाउने खालका अफवा फैलाइरहेको सन्दर्भमा सबैले आ–आफ्ना स्थानबाट संयमता र सजगता अपनाउनुपर्नेमा जोड दिएका हुन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थारू कल्याणकारी सभा तथा राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनको आह्वानमा विभिन्न मागसहित भइरहेका आन्दोलनमा विभिन्न तत्वले यसको मौका छोपी सामाजिक सद्भाव बिथोलिने कार्य गरिरहेको पाइएको छ ।

समाजमा विखण्डन ल्याउने खालको अफवाह फैलाउने र साम्प्रदायिक वितृष्णा फैलाउनेजस्ता गतिविधि ग्रामीण तहमा सक्रिय हुनसक्ने भएकाले समाजका सबै वर्ग सचेत हुनुपर्ने मानवअधिकारकर्मी विपिन गौतमले बताउनुभयो ।

उहाँले आ–आफ्ना माग राख्न पाउनु सबैको संवैधानिक अधिकार रहेको भन्दै त्यसबेला अरूको मानवअधिकारका बारेमा पनि ध्यान पु¥याउनु आवश्यक छ भन्नुभयो ।
समाजमा वैमनस्यता फैलाएर कसैलाई फाइदा नपुग्ने हुँदा जो कोहीले पनि सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिको प्रयोग गर्दा पूर्वसावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको अर्का मानवअधिकारकर्मी टीका घिमिरेले बताउनुभयो ।

गलत प्रचार र सूचनाले समाजमा द्वैष उत्पन्न गरी सद्भाव खलबलिने भएकाले यसतर्फ सावधानी अपनाउनुपर्ने पत्रकार प्रभातकुमार झाको भनाइ छ ।

प्रतिक्रिया