तीन मन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक

इनेप्लिज २०७२ भदौ २३ गते १४:२७ मा प्रकाशित

काठमाडौँ, २३ भदौ । वर्तमान मन्त्रिपरिषद्का तीन सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले पेस गर्नुभएको सम्पत्ति विवरणमा उहाँकै नाममा विराटनगरमा तीन कठ्ठा जमिन र साढे दुई तले घर, मीना आचार्यको नाममा काठमाडौँमा छ आना दुई पैसा जमिन र साढे दुई तले घर र सोपान आचार्यको नाममा मोरङमा १५ हजार ४५३ वर्गमिटर जग्गा रहेको उल्लेख छ ।

त्यस्तै, उहाँको चल सम्पत्तिमा सुनका सिक्का, बाला, चुरा, नेकलेश, चाँदीका थाल, करुवा र प्लेट रहेका छन् । मन्त्री आचार्यका नाममा विभिन्न बैंकमा नगद तथा बैंकका सेयरमा लगानीसमेत रहेका छन् ।

शिक्षामन्त्री चित्रलेखा यादवले पेस गर्नुभएको विवरणमा सिराहा र ललितपुरका विभिन्न क्षेत्रमा जमिनका साथै एक गाडी र मोटरसाइकल, सुनचाँदी गरगहना, सेयरमा लगानी र विभिन्न बैंकमा नगद रहेको उल्लेख छ ।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सम्पत्ति विवरणमा आफ्नो नाममा पोखरा, काठमाडौँ र धादिङमा केही जमिन रहेको जनाउनुका साथै सुनचाँदी, गरगहना, सेयरमा लगानी र विभिन्न बैंकमा नगद रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया