रुप्से झरनामा पुल बनेपछि मुक्तिनाथ आउने भक्तजनलाई सुविधा

इनेप्लिज २०७२ भदौ २३ गते ३:१० मा प्रकाशित

मुस्ताङ, २३ भदौ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रुप्से झरनामा अस्थायी पुल निर्माण भएपछि मुक्तिनाथ दर्शनका लागि आउन भक्तजनलाई सुविधा पुगेको छ ।

अविरल वर्षाका कारण खोलाको बहाव बढेपछि लामो समयदेखि सिधा सवारीसाधन सञ्चालन हुन सकेको थिएन । रुप्से झरनाको खोलामा सडक डिभिजन कार्यालय बाग्लुङले अस्थायी पुल निर्माण गरिदिएपछि शनिबारदेखि सिधा सवारीसाधन सञ्चालनमा आएको यातायात व्यवसायीले जानकारी दिएका छन् । मुस्ताङको मार्फा र कोबाङ गाविसका केही स्थानमा झरेको पहिरो यसअघि नै हटाइसकेको छ ।

रुप्से झरनामा पुल नहुँदा जिल्ला आउने भक्तजन तथा पर्यटक दोहोरो मारमा परेका थिए । बेनीदेखि रुप्से झरना र त्यसदेखि माथि अर्को सवारीसाधनमा आउनुपर्दा समय र पैसा बढी खर्च हुने गरेको थियो । यो याममा मुक्तिनाथ दर्शनका लागि आउने भारतीय र नेपाली भक्तजन बढी हुन्छन् । उनीहरु सिधै मुक्तिनाथ पुग्ने चाहे पनि जीर्ण सडक र पहिरोले समस्या भएको थियो । वर्षा पनि रोकिँदै गएको र पुल पनि निर्माण भएपछि सिधा यातायात सञ्चालन हुन थालेको म्याग्दीका यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

“म्याग्दी खण्डमा कुनै समस्या छैन्, अब सिधै जोमसोमसम्म सवारीसाधन जान सक्छ”– उहाँले भन्नुभयो । नियमित सवारीसाधन सञ्चालनमा आउने भएपछि भक्तजनलाई सहज हुने मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीको भनाइ छ । उहाँले भदौ महिनादेखि तुलनात्मक रुपमा भक्तजनको सङ्ख्या बढ्दै गएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया