सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०१:११
वासिङटन डिसी 14:26

बजार नपाएर कुहिन्छ मुगुमा स्याउ

इनेप्लिज २०७२ भदौ २२ गते ११:१२ मा प्रकाशित

07092015023349Mugu-apple1-600x0मुगु, २२ भदौ । जिल्लाका विभिन्न स्थानमा कृषकले फलाएको स्याउ पाके पनि जिल्ला कृषि विकास कार्यालयले स्याउ राख्ने बाकस उपलब्ध गराउन नसकेर बजार आसपासमा र बाहिर गाउँघरमा बजार नपाएर करोडौँका स्याउ कुहिन थालेका छन् ।

“स्याउ धेरै छ, पाकेर रूखबाट झर्न थालिसक्यो, अलिअलि भएको बाकसमा स्याउ राखेर नेपालगन्ज पठाएँ, अरू कुहिने हो कि भन्ने चिन्ता छ”–कार्कीवाडा गाविसका स्थानीय रामभक्त रोकायाले भन्नुभयो । कृषकका बगैँचामा फलेको स्याउ पाकेर झर्न थालेपनि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा उपलब्ध गराउने बाकस समयमा नै वितरण नगरेपछि स्याउ कसरी बाहिर जिल्ला पठाउने भन्नेमा किसान चिन्तामा छन् ।

मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरवीर रावत स्याउ राख्ने बाकस नपाएपछि आफूले गमगढी बजारमा रहेका तरकारी बिक्री गर्ने प्लास्टिक क्यारेट भाडामा लिई त्यसैमा ८० क्विन्टल स्याउ राखेर सुर्खेतमा लगी प्रतिकिलो ५० रुपैयाँका दरले मुगुको स्याउ बिक्री गरेको बताउँछन् । उनी भन्छन्–“गाउँघरबाट जिल्ला सदरमुकामसम्म ढुवानीको व्यवस्था भएमा मुगुको स्याउ राम्रै मूल्यमा बिक्री हुने रहेछ । सदरमुकामसम्म हवाई र स्थलमार्गको यातायातको राम्रो सुविधा भएकाले अन्य जिल्लासम्म स्याउ पु¥याउन समस्या छैन बरु किसानलाई भण्डार, उत्पादनबारे तालिम दिन जरुरी छ ।”

कृषि कार्यालयले जिल्लामा फलेको स्याउ सहज रुपमा जिल्लाबाहिर लैजानका लागि स्याउ किसानलाई हरेक वर्ष अनुदानमा बाकस उपलब्ध गराउँदै आएको थियो तर तराई बन्दका कारण खरिद गरिएका बाकस बीच बाटोमा नै रोकिएकाले किसानलाई समयमै बाकस वितरण गर्न नसकिएको कृषि कार्यालयले जनाएको छ । गत वर्षका बाँकी रहेका केही सङ्ख्याका बाकस किसानलाई वितरण गरिएको र बाटोमा रोकिएका बाकस आए किसानलाई वितरण गरिने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बुद्धिनारायण देवले जानकारी दिनुभयो ।

गत वर्ष जिल्लामा उत्पादन भएको स्याउ वर्षाका कारण हवाई यातायात तथा सडक मार्ग बन्द भएपछि जिल्लाबाहिर निकासी हुन नसक्दा खेर गएको थियो । अहिले सडक यातायात र हवाई यातायात सञ्चालन रहे पनि स्याउ राख्ने बाकस नपाउँदा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि लाखौंको स्याउ कुहिने हो कि भन्ने चिन्तामा किसान छन् । स्याउ पाकेपछि अहिले किसानले आफ्ना बगँैचाका स्याउ टिप्न सुरु गरेका छन् ।

स्याउ टिपे पनि सुरक्षित भण्डारणको व्यवस्था नहुँदा किसानले सस्तो मूल्यमा स्याउ बिक्री गरिरहेका छन् । गत वर्ष जिल्लाबाहिर स्याउ नपठाए पनि ४० हजार बराबरको स्याउ जिल्लामा नै बिक्री गरेको र बाँकी सबै खेर गएको कार्कीवाडा–२ की राजमाया रावलले भन्नुभयो ।

अहिले जिल्लामा २५ देखि ४० रुपैयाँ प्रतिकेजी स्याउ बिक्री भइरहेको छ । शुक्रबार मात्र जिल्लाबाट एक सय क्विन्टल स्याउ निकासी भएको छ । “नेपालगन्ज बन्द भन्छन्, यता स्याउ पाकेर झर्न थालिसक्यो, जे पर्ला पर्ला भनेर ७२ क्विन्टल नेपालगन्जतर्फ पठाएँ”–कार्कीवाडा–६ निवासी हस्तबहादुर कार्कीले भन्नुभयो । सदरमुकाम आसपासका कार्कीवाडा, रुगा, रोवा, पिना गाविसमा उत्पादन भएको स्याउ सदरमुकाम र नेपालगन्जतर्फ खपत हुने भए पनि सदरमुकामबाहिरका माँग्री, जिमा, रारा, खमाले, सुकाढिक, कालैलगायत गाविसमा फलेको स्याउ यातायात र भौगोलिक विकटताका कारण खेर जाने गरेको छ ।

सोरुकोटका पदमबहादुर शाही आफ्नो गाउँमा उत्पादन हुने स्याउ गाउँघरमा एक रुपैयाँमा तीन दानामा बिक्री हुने गरेको र बजार टाढा हुने भएकाले बिक्री नभएको स्याउको घरेलु मदिरा बनाउने र गाईवस्तुलाई खुवाउने गरेको तर त्योभन्दा कम गुणस्तरका स्याउ गमगढी बजारमा एक दानाको १० रुपयाँसम्म पर्ने गरेको बताउँछन ।

जिल्लामा एक हजार ७५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाभरिमा दुई हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष तीन हजार नौ सय ९० मेट्रिक टन उत्पादन भएको अनुमान छ । जिल्लामा उत्पादन भएको स्याउ सुरक्षित राख्न विभिन्न स्थानमा भण्डार घर निर्माण गर्ने आगामी लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया