मध्यरातमा हिउँचितुवा गोठमा पसेर १०४ च्याङ्ग्रा मारे

इनेप्लिज २०७२ भदौ २२ गते ९:२६ मा प्रकाशित

him-chituwaमुस्ताङ, २२ भदौ । उपल्लो मुस्ताङको चराङ–१, मराङ गाउँमा मध्यराति हिउँचितुवा गोठमा आएर १०४ च्याङ्ग्रा मारेका छन् ।

गाउँनजिकै रहेको पेमाछेतेन गुरुङको गोठमा आइतबार र सोमबार राति आएको हिउँ चितुवाले उक्त सङ्ख्यामा च्याङ्ग्रा मारेपछि पूरै बस्तीका स्थानीयवासी त्रसित बनेका छन् ।

पहिलो रातमा सात र दोस्रो रातमा ९७ वटा च्याङ्ग्रा मारेको पीडित किसान गुरुङको भनाइ छ । करिब ३०० च्याङ्ग्रा पालेका गुरुङ अधिकांश च्याङ्ग्रा मारेपछि विक्षिप्त बनेका छन् ।

“अहिलेसम्म यस्तो भएकै थिएन, दसैँतिहारलाई भनेर तयार पारेका सबै च्याङ्ग्रा मारिदियो, उहाँले भन्नुभयो – “मलाई कस्तो दैव आइलाग्यो ।” करिब पाँचवटा हिउँचितुवाको समूहले ती च्याङ्ग्रा मारेको स्थानीयवासीले अनुमान गरेका छन् ।

बिहानपख किसानको आग्रहमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्राविधिक र सीमा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनास्थलबाट दुईवटा हिउँचितुवालाई लखेटेको थियो । स्थानीयवासीका अनुसार, राति ११ बजेपछि नजिकै रहेको जङ्गलबाट ती हिउँचितुवाका समूह आएका थिए । एक्यापले उपल्लो क्षेत्रमा विश्वबाटै दुर्लभ हुँदै गइरहेको हिउँचितुवा संरक्षणका लागि विभिन्न किसिमका अभियानहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

सोही कारण ती क्षेत्रमा पछिल्लो समय हिउँचितुवाको समूह देखिँदै गएको स्थानीयको भनाइ छ । एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले पीडित किसानलाई क्षतिपूर्ति दिनका लागि पहल गरिने बताउनुभयो । उहाँले नगदसहित, गोठमा सोलार लाइट जडानका लागि पहल भइरहेको जानकारी दिनुभयो । “वन्यजन्तु र मानवबीचको सम्बन्ध सुधारका लागि हामीले अभियान पनि चालिरहेका छौँ” – उहाँले भन्नुभयो ।

प्रतिक्रिया