काठ र सवारीसाधन लिलाम नहुँदा नष्ट हुने अवस्थामा

इनेप्लिज २०७२ भदौ २२ गते ५:०३ मा प्रकाशित

saal-kaathइलाम, २२ भदौ । जिल्लाको दक्षिणी सेक्टर वन कार्यालय सुखानी, दानाबारीमा विभिन्न समयमा बरामद गरिएका सवारीसाधन र काठसहित करोडौँका सम्पत्ति नष्ट हुने अवस्थामा पुगेका छन् ।

तस्करले तस्करीमा प्रयोग गरिएका बस, ट्रक, ट्याक्टर, साइकल र काठले कार्यालय परिसर भरिभराउ भएको छ । कार्यालयले बरामद गरिएका त्यस्ता सवारीसाधन र काठ समयमै लिलामी नगर्दा रु दुई करोडभन्दा बढीका सम्पत्ति त्यसै खेर गइरहेका छन् ।

सेक्टर वन कार्यालयमा छ हजार २८३ क्युफिट काठ अलपत्र भएको छ । पाँच वटा ट्याक्टर, एक÷एक वटा बस, पिकअप, दुई वटा मोटरसाइकल र २१ साइकल कार्यालय परिसरमै थन्किएका छन् । काठ लिलाम नहुँदा करिब रु एक करोड २४ लाख ६७ हजार मूल्य बराबरको सालको काठ सड्ने अवस्थामा पुगेको दक्षिणी सेक्टर दानाबारीका सहायक वन अधिकृत वसन्तबाबु श्रेष्ठले बताउनुभयो । यस्तै करिब रु ८५ लाखभन्दा बढीका सवारीसाधन खिया लागेर नष्ट हुने क्रममा छन् ।

कार्यालयले आव २०७१÷०७२ मा मात्रै एक हजार २०८ क्युफिट सालको काठ बरामद गरेको छ । कार्यालयमा आठ वर्षदेखि बेवारिसे रूपमा राखिएका सालका काठ छन् । लामो समयदेखि थन्किएका काठ लिलामीका लागि प्रक्रिया सुरु गरिसकेको जिल्ला वन कार्यालय इलामले जनाएको छ । यस्ता सामग्रीको समयमै लिलामी नहुँदा राज्यलाई लाखौँ रुपैयाँ घाटा भइरहेको दानाबारीका हरिअसिम अधिकारी बताउनुहुन्छ ।

काठ तस्करीमा संलग्न ४१ जनाविरुद्ध जिल्ला वन र जिल्ला अदालतमा मुद्दा दायर गरिएको सहायक वन अधिकृत श्रेष्ठले बताउनुभयो । अदालत तथा वन कार्यालयबाट मुद्दा फैसला ढिलो हुँदा बरामद गरिएका काठ र सवारीसाधन लिलाम बिक्रीमा समस्या उत्पन्न हुने गरेको समेत सेक्टर वन कार्यालयले जनाएको छ ।

सामुदायिक वन संरक्षणको जिम्मा पाएका उपभोक्ता समितिका जिम्मेवार पदाधिकारी पनि तस्करीमा संलग्न भएकाले मुद्दा खेपिरहेका छन् । अहिलेसम्म ६० मुद्दाका १६० जना मुद्दामा छन् । तीमध्ये कतिपय भने फरार रहेको वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया