विराटनगरमा भगवान् श्री राधाकृष्णको रथयात्रा सम्पन्न

इनेप्लिज २०७२ भदौ २० गते १४:५६ मा प्रकाशित

Rss_Images_1441547372330_GL-Biratnagar-ratha yatraविराटनगर, २० भदौ । भगवान् श्री राधाकृष्णको रथयात्रा महोत्सव विराटनगरमा आज साँझ धार्र्मिक विधिपूर्वक उल्लासमय वातावरणमा नगर परिक्रमा गरी सम्पन्न भएको छ ।

विगतका वर्षझैँ यस वर्ष पनि विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरको परिसरबाट युगल मूर्तिलाई रथमा विराजमान गराई सो स्थलबाट सुुरु भएको रथयात्रा नगरको तीनपैनी, गोल्छामोड, ट्राफिकचोक, महेन्द्रचोकबाट वरगाछीचोक हुँदै करिब आठ किलोमिटरको दूरीमा केही समयका लागि ४४ ठाउँमा विश्राम गरी पुनः सोही मन्दिरको परिसरमा पुगेर समापन भएको हो ।

उक्त रथयात्रामा विभिन्न मन्दिर एवम् धार्मिक संस्थाका रथ, कलश यात्राका साथै विभिन्न संस्कृति झल्किने झाँकी, नाचलगायत श्रद्धालुबीच चिसो पेय पदार्थ वितरण गर्ने गाडीको पनि सहभागिता थियो ।

सडकको दुवै पेटिमा हजारौँ श्रद्धालुको सहभागिता रहेको थियो । श्रद्धालुलाई चिसो पेयलगायतका सेवा उपलब्ध गराउनका लागि दर्जनौँ संस्था सक्रिय भएर जुटेका थिए ।

यसका साथै रथयात्राको मार्गमा पर्ने भवन छत र कौसीबाट श्रद्धालुले रथमाथि फूलको साथै जल अर्पण गरिरहेका देखिन्थे । विसं १९८८ बाट खटयात्रा (खाटमा भगवान्को मूर्ति राखेर गर्ने यात्रा)को रुपमा नगर परिक्रमा सुरु गरिएको थियो ।

विसं २०२५ मा विराटनगरका भूपालमानसिंह कार्की तथा सत्यनारायण धनावतको सम्पूर्ण लगानीमा रथ निर्माण गरी राधाकृष्ण मन्दिरलाई हस्तान्तरण गरिएको थियो ।

त्यसपछि, सोही रथमा राधाकृष्णको मूर्तिलाई विराजमान गराई ४८ वर्षदेखि कृष्णजन्माष्टमीको भोलीपल्ट रथयात्रा निरन्तररुपमा भइरहेको छ ।

अति आकर्षक ढङ्गले सजाइएको सो रथको उचाइ १८ फिट चार इन्च, चौडाइ ११ फिट दुई इन्च र लम्बाइ १४ फिट रहेको छ ।

दक्षिण एसियाको उडिसाको जगन्नाथपुरी पछिको यो दोस्रो ठूलो रथ यात्रा हो भनी विश्वास गरिन्छ । यस रथयात्राको दर्शन गर्नका लागि सीमावर्ती भारतका साथै सुनसरीका साथै मोरङका हजारौँ श्रद्धालुको उपस्थिति रहेको थियो ।

रथयात्रालाई विधिवत्रुपमा शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउनका लागि करिब एक हजारको सङ्ख्यामा सशस्त्र र जनपद गरी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

विराटनगर उपमहानगरपालिकाले आठ किलोमिटरको रथयात्राको मार्गकोे सरसफाइका साथै धुलो उड्न नदिनका लागि बिहानैदेखि पानी छर्केको थियो ।

प्रतिक्रिया