गौरा पर्व प्रभावित

इनेप्लिज २०७२ भदौ २० गते ४:३० मा प्रकाशित

धनगढी, २० भदौ । स्थानीय प्रशासनले लगाएको लगातारको निषेधाज्ञाका कारण सुदूरपश्चिमेलीको मौलिक गौरा पर्व यहाँ सहज रुपमा मनाउन नपाई प्रभावित भएको छ ।

दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञासँगै धनगढी नगर क्षेत्रलाई निषेधित क्षेत्रसमेत घोषणा गरिएपछि आफूहरुले सहज रुपमा पर्व मनाउन नपाएको श्रद्धालु नगरवासीले गुनासो गरेका छन् । शुक्रबार सप्तमी तिथीका दिन गौराघर तथा मन्दिरमा धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको थियो । गौराघर अथवा मन्दिरमा सर्वसाधारण भेला हुन पाएनन् ।

बाह्र दिनदेखि धनगढी नगर क्षेत्रमा दिउँसोको समयमा निषेधाज्ञा जारी गरिएकामा निषेधाज्ञाको समयबाहेकको समयमा समेत प्रदर्शन, सभा, जुलुस गर्न नपाइने गरी केही दिनदेखि निषेधित क्षेत्रसमेत घोषणा गरिएको छ ।

सुदूरपश्चिमका अन्य जिल्लामा भने यो पर्व निर्वाध रुपमा सर्वसाधारणले मनाइरहेका छन् । धनगढी नगर क्षेत्रमा कृष्णजन्माष्टमी पर्वका अवसरमा निकालिने भव्य डोल जात्रा (शोभा यात्रा) समेत लगातारको निषेधाज्ञाका कारण प्रभावित हुने भएको छ । शोभा यात्रा कृष्णजन्माष्टमीको दोस्रो दिन निकालिने गरिएको छ ।

टीकापुर घटनापछि स्थानीय प्रशासनले धनगढीमा मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म निषेधाज्ञा लगाउँदै आएको छ ।

प्रतिक्रिया