बर्दिवास, २० भदौ । अहिले तराई क्षेत्रमा आमहडताल चलिरहेको मौका छोपेर महोत्तरी जिल्लाको वन क्षेत्रमा तस्करी बढेको छ ।
सुरक्षाकर्मीको ध्यान आन्दोलनतिर भएको मौका छोप्दै वन तस्करले जिल्लाका राष्ट्रिय वन, धार्मिक वन, साझेदारी वन र सागरनाथ वन विकास परियोजनाको दर्जनौँ रुख काटेर लगेका छन् । पछिल्लो २१ दिने आन्दोलनकै बीचमा बर्दिवास–१२ मा पर्ने टुटेश्वरनाथ साझेदारी वनबाट मात्रै २० भन्दा धेरै सखुवाका रुख काटिएका छन् । वन क्षेत्रमा प्रहरी प्रशासन र जिल्ला वन कार्यालयका सशस्त्र वन रक्षकको उपस्थिति नभएको मौका छोपेर तस्करले रातारात रुख काटेर लाने गरेका टुटेश्वर बस्तीका मणिक काफ्लेले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गसँगैको राष्ट्रिय वन क्षेत्रमा तस्करको बिगबिगी निकै बढेको छ । जिल्लाका बर्दिवास नगरपालिका क्षेत्र र खयरमारा गाविस क्षेत्रमा पर्ने राष्ट्रिय वन क्षेत्रमा २० दिनकै बीचमा तस्करले काटेर लगेकासखुवाका ठुटा देखिएको वनक्षेत्रका बासिन्दाको भनाइ छ ।
खासगरी पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनियाँ चोकबाट सशस्त्र प्रहरीको चौकी हटेपछि वन तस्करको बिगबिगी बढेको लक्ष्मीनियाँ, बटौवा बस्तीका सूर्यनारायण महतोले बताउनुभयो । तस्करले राजमार्गभन्दा दक्षिण रहेको सागरनाथ वन विकास परियोजनाको प्लट र टुटेश्वरस्थित धार्मिक वनको प्लटबाट समेत एक दर्जनभन्दा बढी काँचा रुख ढालेर लगेको थाहा भएको छ ।
पछिल्ला केही दिनयता वन सम्पदाको चोरी बढेको जिल्ला वन कार्यालय महोत्तरीले पनि स्वीकार गरेको छ । वन क्षेत्रमा तस्करी बढेको त्यस क्षेत्रका बासिन्दाले गुनासो गरे पनि अहिले कर्मचारी आफैँ असुरक्षित भएकाले गस्ती गर्न नसकिएको जिल्ला वन अधिकृत शान्तमाया श्रेष्ठले बताउनुभयो । सदरमुकाम जलेश्वरस्थित जिल्ला वन कार्यालय नै तालाबन्दी रहेका अवस्थामा वन क्षेत्रको सुरक्षा गर्न कठिन काम भएको वन कर्मचारीको भनाइ छ ।
खासमा एक हप्ताअघि आन्दोलनकारीले जलेश्वरस्थित जिल्ला वन कार्यालयमा तालाबन्दी गरेपछि वनका कर्मचारी आआफ्ना घर गएपछि वन क्षेत्रमा तस्कर सक्रिय भएका हुन् । तस्करले साखुका काँचा रुख ढालेर १० ठाउँ सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध पार्न ढालिएका रुखको पनि तस्करी हुन थालेको छ । ढालिएका रुख हटाएर प्रहरीले राजमार्गलाई खुलाए पनि सम्बन्धित निकायले ढालिएका रुखका टुना (गिंड) को व्यवस्थापन गर्न नसक्दा तस्करी झन् बढेको हो ।
जिल्ला वन कार्यालयले यसबीचमा तस्करी नियन्त्रणका लागि गस्ती गर्न नसके पनि सागरनाथ वन विकास परियोजनाले भने पाँच तस्करलाई समातेर कारबाही गरेको छ । परियोजना प्रमुख अम्बिका पौडेलले पछिल्लो एक साताकाअवधिमा काठ तस्करलाई नियन्त्रणमा लिई जरिवाना गरेर छाडिएको जानकारी दिनुभयो । काठ तस्करीमा संलग्नलाई अहिले थलामै पक्राउ गरिए पनि मुद्दा दायर गरेर कारबाही गर्नसक्ने अवस्था नरहेको परियोजनाका कर्मचारी बताउँछन् ।
प्रतिक्रिया