एचवानएनवान एन्फ्लुएन्जाः दुई जनामा सङ्क्रमण

इनेप्लिज २०७२ भदौ १९ गते १२:१६ मा प्रकाशित

swine_flue_115702164रामेछाप, १९ भदौ । एचवानएनवान एन्फ्लुएन्जाको सङ्क्रमण देखिएपछि रामेछापका नागरिकमा त्रास बढेको छ ।

ज्वरोका बिरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको एकहप्ते अनुसन्धानपछि एन्फ्लुएन्जाको सङ्क्रमण भएकोे पुष्टि भएको छ । जिल्ला अस्पतालमा लामो समयसम्म भर्ना भएका बिरामीलाई निको नभएपछि रगत परीक्षणका लागि भर्ना भएका आठ बिरामीको रगत टेकु अस्पताल पठाइएकामा दुई जनामा पोजेटिभ देखा परेको छ ।

अस्पतालमा आउने बिरामीमा कडा ज्वरो देखिएपछि एक सातादेखि विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा सुवास पाठक र डा सुवास न्यौपानेले जिल्ला अस्पतालसहित मन्थलीको तामाकोसी सहकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पताललगायत अस्पतालमा भर्ना भएका बिरामीको अनुसन्धान सुरु गरेका थिए ।

यसअघि स्वाइनफ्लु भएको आशङ्का गरिएको थियो तर एन्फ्लुएन्जा भएकाले सर्वसाधारणलाई नआत्तिन चिकित्सकले अनुरोध गरेका छन् । चिकित्सकले अहिलेको ज्वरोबाट आत्तिनु नपर्ने तर सतर्क रहनुपर्ने बताएका छन् । जिल्लामा कडा ज्वरोका बिरामी देखापरेपछि जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालका चिकित्सक, विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक र अस्पताल सञ्चालक समितिका पदाधिकारीसहितका टोलीलाई परिचालन गरेको छ ।

चिकित्सकका अनुसार एन्फ्लुएन्जा प्रारम्भिक चरणमा नै रहेकाले नियन्त्रण नजिकै पुगेको छ । रोगको पहिचान भएपछि काठमाडौँबाट जिल्लामा थप औषधि प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीका बारेमा थप अनुसन्धान भइरहेको विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया